देश/प्रदेश
अर्जुनी सर्पदंश उपचार केन्द्रबाट स्थानीय लाभान्वित

महेन्द्रनगर, साउन ३०-
नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित भएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंहदल गण, मझगाउँ ब्यारेकअन्तर्गत अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमो एक हजार ३५१ जना महिला र ६४५ पुरुषले सेवा लिएका हुन् ।
सेना र स्थानीय समुदायको संयुक्त व्यवस्थापनमा २०७१ सालमा केन्द्र स्थापना भएको हो । स्थापनाकालदेखि नै केन्द्रबाट २४ सै घण्टा सेवा प्रवाह हुँदै आएको रणसिंहदल गणले जनाएको छ ।
गणका प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार केन्द्रलाई औषधि तथा उपकरण बेदकोट र शुक्लाफाँटा नगरपालिका, स्वास्थ्य कार्यालय कञ्चनपुर तथा प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।
सेनाले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई सर्पदंशसम्बन्धी चेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । रासस

























