देश/प्रदेश

क्यानभास होइन, शरीरमै कलाकृति,ट्याटुदेखि बडी मोडिफिकेसनसम्मः कबिनराजको फरक यात्रा

Banner

काठमाडौं साउन ३० –

हामीमध्ये धेरै जना शरीरलाई जन्मजात प्राप्त हुने संरचना मान्छौँ । यो ठीकै पनि हो । तर, हेटौंडाका २७ वर्षीय कबिनराज पुरीका लागि शरीर एउटा क्यानभास हो । ‘एन्थोनी बडी आर्टस्’का नामले परिचित उनी ‘बडी मोडिफिकेसन’लाई व्यक्तिको पहिचान, भावना र स्वतन्त्रताको कलात्मक अभिव्यक्ति मान्छन् ।

नेपालका पहिलो बडी मोडिफिकेसन कलाकार कबिनले अन्तर्राष्ट्रिय स्तरमा विश्व कीर्तिमान कायम गर्दै नेपाली बडी मोडिफिकेसन कलालाई विश्वमञ्चमा पुर्‍याउने अभियान थालेका छन् । विशेषगरी आइबल ट्याटुको क्षेत्रमा नेपालबाहिर उनको अलग्गै पहिचान छ । ‘मेरो लागि बडी मोडिफिकेसन कला मात्र होइन, मानिसको भित्रि भावना बाहिर ल्याउने माध्यम हो,’ उनी भन्छन्, ‘मानिसले आफू वास्तवमा को हो भन्ने कुरा कहिलेकाहीँ शब्दले भन्दा आफ्नो
शरीरमार्फत राम्रोसँग व्यक्त गर्न सक्छ।’

शरीरको स्वरूप वा बनावट परिवर्तन गर्ने प्रक्रियामै उनी रमाउँछन् । ट्याटु, पियर्सिङ कान, नाक, ओठ, जिब्रो, भुँडी आदि छेडेर गहना लगाउने, जिब्रो विभाजन बीचबाट दुई भागजस्तो बनाउने, इम्प्लान्ट शरीरभित्र सामग्री राखेर आकार परिवर्तन गर्ने लगायत उनको सोख हो ।

बडी मोडिफिकेसनको उनको यात्राको प्रारम्भिव विन्दु ट्याटु हो । बाल्यकालमा उनी एन्थोनी साइन नामका विदेशीबाट प्रभावित भएका थिए। यो आजभन्दा डेढ दशकअघिको कुरा हो । एन्थोनीको अनुहारमा उनकी आमाकै अनुमतिमा ट्याटु खोपिएको थियो। यसपछि कबिनलाई लाग्यो – म पनि यसरी नै ट्याटु बनाउँछु । आजको उनको ‘एन्थोनी बडी आर्टस्’को साइनो तिनै विदेशीसँग जोडिन्छ।

बुवा आर्मीमा थिए । घरमा सहज थिएन । छोराले सरकारी जागिरे भइदिए हुन्थ्यो भन्ने बुवाआमाको सपना थियो । तर, उनको इच्छा र सपना ट्याटुमा थियो ।

उनलाई ट्याटुतिर चासो बढ्यो । आफैँले सुरुमा ‘तारा’ को ट्याटु खोपे । यतिबेला उनी १२ वर्षका थिए । यसपछि उनलाई ट्याटुको नशा लाग्न थाल्यो ।

सुरुमा घरमै स्टुडियो बनाएर ट्याटु बनाउन थाले । समाजले खास पचाउने समय थिएन। आफ्ना साथीभाइसँग पैसा लिएर उनी ट्याटू खोपिदिन्थे। घरमा उनले यो ‘आर्ट’ हो भनेर बुझाउन खोजे । कसैले उनलाई सुनेनन्। उनी काठमाडौँ पसे। ८र१० वर्षअघि काठमाडौँमा ट्याटु भर्खर चल्न थालेको थियो। विदेशीसँग सम्पर्क बढेपछि उनी काठमाडौँमा टिक्न सक्ने अवस्थामा पुगे। विस्तारै उनले बडी मोडिफिकेसनबारे बुझ्दै गए ।

धेरैले बडी मोडिफिकेसनको रहर राख्छन्, सँगै डर पनि मान्छन् । छाला र शरीरका अंगमा कुनै जोखिम हुने चिन्ता धेरैको हुन्छ । तर, उनी जोखिम नरहेको र सुरक्षा नै आफ्नो कामको पहिलो प्राथमिकता भएको दाबी गर्छन् ।

उनकाअनुसार प्रयोग हुने सबै उपकरणलाई उच्चस्तरीय स्टीम स्टेरिलाइजेसन मेसिनमा राखिन्छ । यसले ब्याक्टेरिया, भाइरस तथा अन्य हानिकारक सूक्ष्मजीव नष्ट गर्छ। सबै उपकरण पूर्ण रूपमा सुरक्षित भएको सुनिश्चित नगरी कुनै पनि प्रक्रिया सुरु नहुने पुरीले सुनाए । ‘म ग्राहकलाई सम्पूर्ण स्टेरिलाइजेसन प्रक्रिया पनि बुझाउँछु। उनीहरूले आफ्नो स्वास्थ्य सुरक्षित छ भन्ने विश्वास महसुस गर्नुपर्छ,’ उनले भने, ‘विश्वास र सरसफाइ नै मेरो कामको सबैभन्दा ठूलो आधार हो ।’

ऐनाअगाडि आफ्नै जिब्रो चिरेको त्यो दिन।।।

कबिनको जीवनकै सबैभन्दा कठिन अनुभव अरू कसैमाथि होइन, आफ्नै शरीरमाथि गरिएको थियो।

उनले आफ्नै टङ स्प्लिट जिब्रो चिर्ने वा जिब्रोलाई दुई भागमा विभाजन गर्ने शल्य प्रक्रिया आफैं गरेका थिए ।

ऐनाअगाडि उभिएर आफ्नै जिब्रो विभाजन गर्नु शारीरिक र मानसिक रूपमा अत्यन्त चुनौतीपूर्ण अनुभव भएको उनी सम्झिन्छन् । ‘त्यो मेरो जीवनकै सबैभन्दा कठिन निर्णय थियो । मैले आफूलाई नै परीक्षण गरें । त्यो केबल शरीर परिवर्तन थिएन, आफ्नो इच्छाशक्ति, धैर्यता र प्रतिबद्धताको परीक्षा पनि थियो,’ उनले सुनाए ।

कुनै पनि प्रक्रिया सुरु हुनुअघि उनी आफ्नो कार्यस्थललाई शान्त र सकारात्मक बनाउँछन् । प्रक्रिया सुरु भएपछि भने उनको सम्पूर्ण ध्यान ग्राहक र आफ्नो काममा केन्द्रीत हुन्छ । उनी कसैसँग कुरा गर्दैनन् । ‘काम गरिरहँदा म कसैसँग अनावश्यक कुरा गर्दिनँ, मेरो सम्पूर्ण ध्यान ग्राहकको सुरक्षामा हुन्छ,’ उनले भने ।

विश्व कीर्तिमानसम्मको यात्रा

सन् २०२३ मा कबिनले आइबल ट्याटुमार्फत अन्तर्राष्ट्रिय विश्व कीर्तिमान प्राप्त गरे। भारतका ताहिर हुसेन र श्रीलंकाका पावी फर्नान्डोमा गरिएको आइबोल ट्याटुका लागि उनले अन्तर्राष्ट्रिय मान्यता हासिल गरे । साथै उनले हेवार्ड विश्व कीर्तिमानसमेत प्राप्त गरेका छन्, जसले उनलाई अन्तर्राष्ट्रिय बडी मोडिफिकेसन समुदायमा थप परिचित बनाएको छ।

विश्व कीर्तिमान प्राप्त गर्नु गर्वको विषय भएपनि अन्य कलाकार र ग्राहकले दिएको मायालाई उनी आफ्नो पुँजी ठान्छन् । ‘विश्व कीर्तिमानले मेरो परिचय अझ ठूलो बनायो। तर कलाकार र ग्राहकले मलाई दिएको सम्मान मेरो निरन्तर मेहनत, गुणस्तर र इमान्दारिताबाट आएको हो,’ उनी खुसी सुनिए ।

सुरुमा बडी मोडिफिकेसन नबुझ्दा उनीप्रति कमैको चासो हुन्थ्यो । कतिले निरुत्साहित गर्थे । उनी आफैंले सिके, आफ्नो बाटो आफैं बनाए, अन्तर्राष्ट्रिय मञ्चसम्म पुगे ।

नेपालमा बडी मोडिफिकेसन अझै खास चर्चामा छैन । त्यसैले उनका अधिकांश ग्राहक विदेशबाट आउँछन् । विदेशी ग्राहक बडी मोडिफिकेसनबारे धेरै जानकार हुने भएकाले उनीहरूसँग काम गर्न सहज हुने उनको अनुभव छ। ‘उहाँहरूको पहिलो चासो सुरक्षा र सरसफाइमा हुन्छ । म त्यही कुरामा सबैभन्दा बढी ध्यान दिन्छु । धेरै विदेशी ग्राहक नेपालमा पनि यस्तो स्तरको काम भइरहेको देखेर खुसी हुन्छन्,’ उनले सुनाए ।

कबिनका अनुसार प्रत्येक ग्राहकको कथा फरक हुन्छ । कोही आफ्नो पहिचान व्यक्त गर्न आउँछन्, कोही जीवनको विशेष अनुभव सम्झन र कोही आफूलाई नयाँ रूपमा महसुस गर्न आउँछन् । ग्राहकको खुसीलाई कबिन ‘पुरस्कार’ मान्छन् ।

नेपालमा अझै पनि बडी मोडिफिकेसनलाई लागुऔषध वा नकारात्मक जीवनशैलीसँग जोडेर हेर्ने प्रवृत्ति रहेको उनी बताउँछन् । ‘म स्वयं लागुऔषध प्रयोग गर्दिनँ। बडी मोडिफिकेसनलाई म जिम्मेवार, सुरक्षित र व्यावसायिक कला भनेर चिनाउन चाहन्छु,’ उनले थपे, ‘केही व्यक्तिले यसलाई लागुऔषध संस्कृतिसँग जोड्दा सम्पूर्ण कलाको छवि बिग्रिएको छ ।’

यो कलालाई जिम्मेवारी, अनुशासन र सम्मानसँग जोड्न आवश्यक रहेको उनको भनाइ छ ।

‘आफ्नै जीवन बाँच्नु नै सफलता’

समाज भौतिक सुःखतिर केन्द्रीत छ । कबिनका लागि सफलता भौतिक सुःखमा सीमित छैन ।

विलासिताबिना सामान्य जीवन उनको सपना हो । ‘मलाई विलासिताको सपना छैन । म आफूले चाहेको जीवन बाँच्न सकूँ, आफ्नो मनपर्ने काम गर्न सकूँ, सम्मानका साथ बाँच्न सकूँ। त्यही नै मेरो सफलता हो,’ उनले भने ।

आफ्नो कला विश्वका विभिन्न देशसम्म पुर्‍याउने उनको लक्ष्य छ ।

युरोप, अमेरिकालगायत देशमा पुगेर अन्य कलाकारसँग अनुभव साटासाट गर्ने, नयाँ प्रविधि सिक्ने र एन्थोनी बडी आर्टस्लाई नेपालबाट विश्वस्तरमा चिनाउने उनको सपना छ ।

भविष्यमा आफ्नै बडी मोडिफिकेसन एकेडेमी स्थापना गरेर नयाँ पुस्तालाई प्रशिक्षण दिने उनको योजना छ । तर सीपभन्दा पहिले नैतिकता, सुरक्षा र जिम्मेवारी सिकाउनुपर्नेमा उनको जोड छ ।

विश्व कीर्तिमान, अन्तर्राष्ट्रिय सम्मान र बढ्दो लोकप्रियताका बाबजुद कबिन आफूलाई अझै सिकिरहेको कलाकार मान्छन् । उनका लागि बडी मोडिफिकेसन शरीर परिवर्तन गर्ने अभ्यास मात्र होइन, कला, अनुशासन, जिम्मेवारी र आत्मपहिचानको माध्यम हो । उनी यसैमा निरन्तर छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>