देश/प्रदेश
जलवायु पारदर्शितामा समान धारणा बनाउन युवा सम्मेलन
काठमाडौँ, साउन २९ –
जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजित ‘लोकल कन्फरेन्स अफ युथ नेपाल २०२६’मा सातवटै प्रदेशका एक सय ८० भन्दा बढी युवाको सहभागिता छ ।
नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल को आयोजनामा भएको सम्मेलन संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) को आधिकारिक बालबालिका तथा युवा समूहकोे समर्थनमा भएको हो ।
जलवायु युवा अभियन्ता दीक्षा सुवेदीले युवाले जलवायु परिवर्तनका क्षेत्रमा क्षमता अभिवृद्धि, नीतिगत सुझाव निर्माण र स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने विषयमा केन्द्रित रही छलफल हुने जानकारी दिनुभयो ।
सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तीकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाइ, स्वच्छता, जल सुरक्षा तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलगायत विषयमा छलफल हुने जानकारी दिइएको छ ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे तापनि जलवायु परिवर्तनका कारण बाढी, पहिरो, पानीको अभाव तथा हिमाली र ग्रामीण क्षेत्रमा जीविकोपार्जनमा समस्या भोगिरहेको छ । यस्ता चुनौतीको समाधानका लागि स्थानीयस्तरमा युवाले गरिरहेका प्रयास र आवाजलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय जलवायु निर्णय प्रक्रियासँग जोड्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।
सम्मेलनले ‘राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तनसम्बन्धी घोषणापत्र २०२६ तयार गर्नेछ । त्यसबाट युवाका प्राथमिकता तथा सुझाव समेटेर नेपालको राष्ट्रिय जलवायु नीति छलफल तथा विश्वव्यापी कोप प्रक्रियामा योगदान पु¥याउने लक्ष्य राखिएको छ ।
सम्मेलनमा आदिवासी जनजाति, जलवायु जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा युवा र लैङ्गिक समानताका क्षेत्रमा काम गर्ने युवाको सहभागितालाई प्राथमिकता दिइएको जनाइएको छ । रासस

























