अन्तर्राष्ट्रिय
बारम्बार ‘किन बिहे नगरेको ?’ भनि सोधेको भन्दै एक पुरुषले गरे छिमेकीको हत्या

इन्डोनेसिया, साउन १८-
इन्डोनेसियाका एक ४५ वर्षीय पुरुषले आफ्नो ६० वर्षीय छिमेकीलाई ‘किन विवाह नगरेको ?’ भनेर बारम्बार सोधेर हैरान पारेको भन्दै हत्या गरेका छन् ।
इन्डोनेसियाली सञ्चारमाध्यमका अनुसार यो घटना उत्तर सुमात्राको दक्षिण तापनुली जिल्लामा भएको हो ।
मृतक ६० वर्षीय असगिम इरियान्तो एक सेवानिवृत्त निजामती कर्मचारी भएको त्यस क्षेत्रकी सहायक प्रहरी आयुक्त मारिया मारपाउङले जानकारी दिएकी छिन् ।
मारियाका अनुसार मृतक असगिमकी श्रीमतीले दिएको बयानका आधारमा, आक्रमणकारी पर्लिन्डुङ्गन सिरेगर जुलाई २९ को राति करिब ८ बजे काठको एउटा टुक्रा लिएर उनीहरूको घर पुगेका थिए र विना चेतावनी आक्रमण सुरु गरेका थिए।
आक्रमणपछि असगिम ज्यान जोगाउन सडकतिर भागेका थिए, तर पर्लिन्डुङ्गनले उनलाई खेद्दै टाउकोमा प्रहार गरे । उनी भुइँमा ढलेपछि पनि पर्लिन्डुङ्गनले उनलाई थप कुटपिट गरेका थिए ।
स्थानीय बासिन्दाहरूले आक्रमण रोकेर असगिमलाई तुरुन्तै अस्पताल पुर्याएका थिए, तर अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो। प्रहरीले आक्रमणको एक घण्टाभित्रै पर्लिन्डुङ्गनलाई पक्राउ गरेको थियो ।
प्रहरीको सोधपुछका क्रममा पर्लिन्डुङ्गनले आफ्ना छिमेकीले ठट्टा गर्दै ‘तिमीले किन अहिलेसम्म बिहे नगरेको रु’ भनेर बारम्बार सोध्ने गरेकाले आफू निकै मर्माहत भएको र उनलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरेको स्वीकारेका छन् ।
यस घातक आक्रमणअघि पनि ती दुई छिमेकीबीच एक(अर्काको खोरमा कुखुरा पसेको विषयलाई लिएर विवाद हुने गरेको थियो । घटना केही समयअघिको हो । एजेन्सी



























