चितवन विशेष
कोदो खेतीमा आक्रर्षित गर्दै त्रिपुरेश्वर सहकारी

चितवन, साउन १७-
चितवनको भरतपुर–८ स्थित धारेचोककी तेजकुमारी कँडेलले तीन दशक अघिसम्म कोदो रोप्ने गर्नुहुन्थ्यो । मकैबारीभित्र कोदो रोपेर पाँच मुरीसम्म फलाएको उहाँको अनुभव छ ।
पछिल्ला वर्षमा कँडेलले कोदो रोप्न छाडिसक्नुभएको थियो । अहिले पुनः कोदोको महत्व बुझेर उहाँले समूह मार्फत कोदो खेती सुरु गर्नुभएको छ । ‘विगतमा कोदो रोपेर थाकेकी हुँ । मकैभित्र रोपेर पनि पाँच मुरीसम्म फलाइन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले किनेर खान परेको छ ।’
भरतपुरकी पुजा भुसालसँग पनि पर्वतमा ३० मुरीसम्म कोदो रोपेको अनुभव छ । यद्यपि चितवन झरेपछि उहाँले कोदो राप्न छोड्नुभएको थियो । यस वर्ष डेढ कठ्ठा जमिनमा उहाँले कोदो रोप्ने तयारी गर्नुभएको छ । ‘पहाडमा आमाबुवासँग कोदो रोप्न हिँडियो । हाम्रो घरमा कुनै दिन ६० जनासम्म कोदो रोप्ने खेतला हुन्थे,’ भुसालले भन्नुभयो, ‘३० मुरीसम्म कोदो फल्थ्यो । अहिले आफ्नो बारीमा कोदो रोपेर खानका लागि अरुलाई नै दिएका छौँ ।’
चितवनमा पछिल्लो समय कोदो रोप्नेहरुको संख्या घट्दै गएको छ । पहाडबाट झरेर आएका मानिसहरुले कोदोभन्दा अन्य बालीलाई महत्व दिँदा कोदो रोप्नेको संख्या घटेको हो । यद्यपि भरतपुर–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले कोदो रोप्नका लागि महिलाहरुलाई आकर्षित गरेपछि यहाँका महिलाहरुले सामूहिक तथा व्यक्तिगत रुपमा पुनः कोदो खेतीतर्फ प्रेरित भएका छन् ।
बारीमा कोदो रोप्न छोड्नुभएकी भरतपुर–९की कोपिला दुराले सहकारीमा आबद्ध भएपछि पुनः कोदो राप्न थालेको बताउनुभयो । ‘लमजुङमा जन्मिएको चेली, हामीले घरमा सधैँ कोदो रोप्थ्यौँ, उहाँले भन्नुभयो, ‘चिवतन झरेपछि चार वर्ष कोदो रोपिएन । केही वर्षयता कोदो रोप्न थालेकी छु ।’ कोदो मदिरा बनाउनका लागि पनि प्रयोग गरिन्छ । मगर समुदायका लागि हरेक चाडपर्वमा मदिराको प्रयोग हुने गर्दछ ।
त्यसका लागि पनि मगर समुदायले कोदो रोप्ने गरेको उहाँ बताउनुहुन्छ । ‘जनजाति भएको नाताले पनि हामीलाई रक्सी चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘यसवर्ष २ कठ्ठा क्षेत्रफलमा कोदो रोप्दैछु ।’ भरतपुर–९ को त्रिपुरेश्वर कृषि सहकारी संस्थाले सहकारी मार्फत यहाँ रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । यस कृषि सहकारीले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरु मार्फत अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
‘हामीले हराउँदै गएको कोदोको प्रर्वद्धन गर्नका लागि विगत छ वर्षदेखि सामूहिक रुपमा कोदो रोप्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘सहकारीले कोदो रोप्न थालेपछि महिला दिदीबहिनीले व्यक्तिगत रुपमा पनि रोप्न लाग्नुभएको छ ।’ त्रिपुरेश्वर सहकारी संस्थाले कोदोको बाँझो जमिनमा कोदो रोप्न चाहने व्यक्तिलाई बिऊ समेत उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
‘हाम्रा सदस्यलाई हामी कोदोप्रति आक्रर्षित गर्दैछौँ,’ उहाँले भन्नुभयो, ‘खाली जमिनमा कोदो रोप्न चाहने व्यक्तिका लागि बिऊ समेत उत्पादन गरेका छौँ ।’ यसवर्ष सहकारीले १३ कठ्ठामा कोदो रोप्दै छ भने भरतपुर ८ र ९मा १० विघा क्षेत्रफलमा कोदो रोप्न लागिएको उहाँले बताउनुभयो । किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि सामूहिक रुपमा कोदो रोप्दै आएको उहाँले बताउनुभयो ।
उहाँले राष्ट्रिय रुपमा कोदो प्रवद्र्धन गर्नमा आफ्नो सहकारीले उल्लेख्य भूमिका समेत खेलेको दाबी गर्नुभयो । उहाँका अनुसार सहकारीले कोदोको पिठो समेत बेच्दै आएको छ । ‘पछिल्ला वर्षमा कोदोको महत्व बढ्दै आएको छ । उत्पादन भने घट्दो अवस्थामा छ,’ उहाँले भन्नुभयो, ‘हामीले सहकारी मार्फत महिनामा १० क्वीन्टलसम्म कोदोको पिठो बिक्री गर्दै आएका छौँ ।’ कोदो पोषणका लागि पनि राम्रो हुने भएकाले किसानले बाँझो जमिनमा पनि खेती हुने भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेलले बताउनुभयो ।
‘कोदो रुखो जमिनमा पनि हुन्छ’, उहाँले भन्नुभयो, ‘यसले माटोको बढी अम्लीयपन समेत सहन सक्छ ।’ उहाँका अनुसार ८ दशमलव ५ युपिएस अम्लीयपनमा पनि कोदो हुन्छ । कोदोले बढी पानी र सुख्खा दुवै सहन सक्ने उहाँले बताउनुभयो । कोदोमा रोग पनि कम लाग्ने उहाँले बताउनुभयो ।
सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक केजी रैथाने कोदोको बीउ ल्याएर रोपेको थियो । त्यसबाट ४१ केजी बीउ उत्पादन भएको थियो । त्यस बीउमध्य संस्थाका सदस्यलाई यस वर्ष २२ केजी बीउ वितरण गरेको थियो । संस्थाले अहिले बीउ आफैँले राख्न थालेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष यमलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागि परेको बताउनुभयो । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने बताउनुभयो । अहिले बजारमा कोदोको मूल्य प्रतिकेजी सय रुपैयाँ भन्दा माथि छ । कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका पोषक तत्व पाइन्छ ।
चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनतमा उत्पादन गर्न सकिने भएकाले किसानका लागि समेत यो लाभदायक हुने कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बताउनुभयो । ‘राष्ट्रिय उत्पादकत्व भन्दा चितवनमा कोदोको उत्पादकत्व बढी छ,’ उहाँले भन्नुभयो, ‘चितवनमा प्रतिहेक्टर एक दशमलव ४५ मेक्टिक टन उत्पादन हुन्छ । राष्ट्रिय उत्पादकत्व एक दशवलव ३ मेक्टिक टन मात्र छ ।’



























