Breaking News
१० दिन सुरुङमा बिताएका दुई कामदारको चमत्कारिक जीवित उद्धार, विश्वभर बन्यो चर्चाको विषय

काठमाडौं, भदौ १९-
नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट १० दिनपछि दुई कामदारलाई जीवितै उद्धार गरिएको घटनाले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ।
बाढीका कारण सुरुङभित्र फसेका ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबिर महर्जनलाई उद्धारकर्ताले जीवित अवस्थामा बाहिर निकालेका हुन्। सप्तरीका साह आयोजनामा फोरम्यान (मेकानिकल)का रूपमा कार्यरत थिए भने महर्जन अटोमेसन प्रोजेक्टअन्तर्गत मेकानिकल सुपरभाइजरका रूपमा काम गर्दै आएका थिए।
बाढीपछि सुरुङभित्र लामो समयसम्म सम्पर्कविहीन रहेका उनीहरू जीवितै फेला पर्नुलाई उद्धार अभियानकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विपत्तिपछि बेपत्ता व्यक्तिको संख्या ठूलो रहेका बेला भएको यो उद्धारले अझै पनि आशा जीवित रहेको सन्देश दिएको छ।
दुई कामदारको जीवित उद्धारको खबरलाई विश्वका प्रमुख सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ प्रकाशन गरेका छन्। अमेरिकी समाचार संस्था सीएनएन र एसोसिएटेड प्रेस (एपी), बेलायती प्रसारण संस्था बीबीसी, द न्युयोर्क टाइम्स तथा रोयटर्सले नेपालमा भएको उद्धार घटनाबारे समाचार प्रकाशित गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विशेषगरी विनाशकारी बाढी आएको करिब नौ–दश दिनपछि सुरुङभित्रबाट दुई कामदारलाई जीवितै निकालिएको विषयलाई समाचारको मुख्य विषय बनाएका छन्। यस घटनाले नेपालको बाढी तथा त्यसपछिको उद्धार प्रयासलाई अन्तर्राष्ट्रियस्तरमा समेत चर्चामा ल्याएको छ।
भदौ १० गते नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको बाढीले त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढी, पहिरो र त्यसपछिको विपत्तिका कारण ठूलो मानवीय क्षति भएको छ भने सयौँ व्यक्ति अझै बेपत्ता रहेको सरकारी विवरण छ।
पछिल्लो विवरणअनुसार बाढी तथा त्यसपछिको विपत्तिमा १ हजार २९० जनाको मृत्यु, ४ हजार ७९८ जना बेपत्ता र ८ हजार १९७ जनाको उद्धार गरिएको छ। यस्तो भयावह परिस्थितिबीच सुरुङबाट दुई जनाको जीवित उद्धार हुनुले बेपत्ता व्यक्तिको खोजीमा आशा थपेको छ।

























