देश/प्रदेश
बाह्य परिवर्तन धेरै भयो, आन्तरिक रूपान्तरण हुन सकेनः डा. चिन्तामणि योगी

काठमाडौं, साउन १७-
पछिल्ला तीन दशकमा नेपालले बहुदलीय व्यवस्था, गणतन्त्र, संघीय शासन प्रणाली तथा सूचना–प्रविधिको विस्तारजस्ता महत्वपूर्ण राजनीतिक र सामाजिक परिवर्तनहरू अनुभव गरेको छ ।
तर यी परिवर्तनसँगै नागरिकको अपेक्षा, असन्तुष्टि, सामाजिक सम्बन्ध र जीवनशैलीमा पनि व्यापक बदलाव आएको छ । सुशासन, आर्थिक समृद्धि र सामाजिक सद्भावको अपेक्षा पूरा नभएको गुनासो बढ्दो छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र प्रविधिको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्ध र सामाजिक आत्मीयतामा असर पारेको छ ।
यस्तै परिदृष्यमा युवापुस्तामा निराशा र आक्रोश बढिरहेको बेला संकृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा। चिन्तामणि योगीले बाह्य परिवर्तन भए पनि समाजको आन्तरिक रूपान्तरण हुन नसकेको बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले बाह्य परिवर्तनसँगै नैतिकता, करुणा, सकारात्मक सोच र सामाजिक विश्वासको विकास हुन नसक्दा नागरिकमा निराशा, असन्तुष्टि र तनाव बढिरहेको बताए ।
उनले परिवर्तनका दुई पक्ष हुने उल्लेख गर्दै बाह्य रूपमा राजनीतिक प्रणाली, विकासका मोडेल, प्रविधि र व्यवस्थापनका ढाँचाहरू परिवर्तन भइरहे पनि मानिसको सोच, संस्कार र व्यवहारमा अपेक्षित सुधार नआएको बताए । ‘सरकारहरू बदलिन्छन, तर संस्कार बदलिँदैनन् । सोच र स्वभावमा परिवर्तन नभएसम्म बाह्य परिवर्तनले मात्र समाजलाई सुखी बनाउन सक्दैन,’ उनले भने ।
डा।योगीका अनुसार अहिले नेपाली समाजमा देखिएको आक्रोश, असन्तोष र अशान्तिको एउटा प्रमुख कारण मानवीय मूल्यहरूको ह्रास हो । उनले विश्वव्यापी रूपमा नै मानवीय सम्बन्ध, आत्मीयता र नैतिकताको संकट गहिरिँदै गएको र त्यसको प्रभाव नेपालमा पनि तीव्र रूपमा देखिएको बताए ।
प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रभावबारे बोल्दै उनले मोबाइल फोन र कृत्रिम बुद्धिमत्ता (एआई) ले केही सकारात्मक अवसर सिर्जना गरे पनि त्यसको दुरुपयोगले परिवार र समाजमा चुनौती थपेको बताए ।
उनका अनुसार अहिले अभिभावकहरू आफ्ना छोराछोरीलाई समयमै सुत्न, खान वा बाहिर खेल्नसमेत प्रेरित गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
‘यन्त्रको विकास भयो, तर मन्त्रको विकास भएन । घरको विकास भयो, तर घरभित्र बस्ने मानिसको चेतना र सद्भावको विकास हुन सकेन,‘ उनले टिप्पणी गरे । उनले बजार र प्रविधिले मानिसलाई नियन्त्रण गर्ने अवस्था सिर्जना भएको भन्दै मानिस आफैंले आफ्नो समय, रुचि र जीवनशैलीमाथिको नियन्त्रण गुमाउँदै गएको बताए । ‘म हेर्न चाहन्नँ, तर मलाई हेर्न बाध्य बनाइन्छ । बजारले मानिसलाई उपभोक्ता मात्र होइन, कहिलेकाहीँ आफ्नो दासजस्तै बनाइरहेको छ,‘ उनले भने ।
विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीहरूको नेपालप्रतिको भावनाबारे चर्चा गर्दै डा।योगीले विदेश पुगेपछि नेपालीहरूमा मातृभूमिप्रतिको माया अझ गहिरो हुने अनुभव आफूले पाएको बताए ।
उनले विभिन्न देशमा रहेका नेपालीहरू स्वयंसेवा, चाडपर्व, पारिवारिक संस्कार तथा सामाजिक गतिविधिका माध्यमबाट नेपालसँग जोडिन खोजिरहेको उल्लेख गरे ।
उनका अनुसार गैरआवासीय नेपालीहरू नेपालका लागि महत्वपूर्ण सम्भावना र आशाका स्रोत हुन् । सरकारले र समाजले उनीहरूलाई नेपालसँग अझ सहज रूपमा जोडिन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ ।
उनले आफूले अमेरिका, युरोप, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा नेपाली समुदायसँग धार्मिक, सांस्कृतिक र शैक्षिक कार्यक्रममार्फत निरन्तर संवाद गरेको अनुभव सुनाए ।
यद्यपि, उनले विदेशमा बस्ने नेपालीहरूलाई आफ्नो आर्थिक अवस्था वा विदेशी नागरिकताको आधारमा आफूलाई श्रेष्ठ ठान्ने प्रवृत्तिबाट बच्न आग्रह गरे । ‘ठूलो बनाउने कुरा अमेरिकाको नागरिकता होइन, व्यक्तिको चरित्र र दृष्टिकोण हो,’ उनले भने ।
सामाजिक सञ्जालमार्फत निरन्तर उपदेश दिने र नेपाललाई हेपेर टिप्पणी गर्ने प्रवृत्तिको पनि उनले आलोचना गरे । विदेशमा रहेका नेपालीहरूले नेपालसँग अधिकारको होइन, सहकार्य, सहअस्तित्व र सहभावको सम्बन्ध विकास गर्नुपर्ने उनको सुझाव छ ।
‘नेपाल आमालाई मैले दिएँ भन्ने होइन, नेपाल आमाका लागि केही गर्न पाएँ भन्ने भावना आवश्यक छ,‘ उनले भने,‘विदेशमा रहेका नेपालीहरू पुत्र–पुत्रीको भावनासहित मातृभूमिसँग जोडिनुपर्छ, अधिकारको भावनासहित होइन ।’
डा।योगीले समाज, राज्य र नागरिक सबैले आत्मचिन्तन गर्दै मानवीय मूल्य, नैतिकता र सहकार्यको संस्कृतिलाई बलियो बनाउन सके मात्र नेपालले वास्तविक रूपान्तरणको अनुभव गर्न सक्ने धारणा व्यक्त गरे ।
प्रविधिभन्दा माथि मानवीय चेतना र मूल्य आवश्यक
डा।योगीले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा नेपाली समाजले विकास र संस्कृतिबीच सन्तुलन कायम गर्न नसके गम्भीर सामाजिक चुनौतीहरू उत्पन्न हुने बताएका छन् ।
उनले सनातन संस्कृतिको मूल विशेषता लचकता, गतिशीलता र उदारता रहेको उल्लेख गर्दै समयअनुसार परिवर्तनलाई स्वीकार गर्न सकिने भए पनि मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्ध कमजोर बन्नु चिन्ताको विषय भएको बताए ।
उनका अनुसार अहिलेको समाजमा प्रविधिको पहुँच बढेसँगै डिप्रेसन, निराशा, पारिवारिक दूरी र सामाजिक विकृतिहरू पनि बढिरहेका छन् । ‘हामी सफल बन्दै गएका छौं, तर असल बन्न सकेका छौं कि छैनौं भन्ने प्रश्न महत्वपूर्ण छ,‘ उनले भने। उनले युवापुस्ताले विश्वका घटनाबारे तत्काल जानकारी राखे पनि आफ्नै परिवार, संस्कृति र परम्पराबाट टाढिँदै गएको टिप्पणी गरे ।
डा।योगीले प्रविधि आफैंमा गलत नभएको स्पष्ट पार्दै त्यसको प्रयोग गर्ने मानिसको चेतना र दृष्टिकोण नै महत्वपूर्ण हुने बताए । ‘यन्त्र आवश्यक छ, तर मन्त्र बिना यन्त्र घातक बन्न सक्छ। जीविका चाहिन्छ, तर जीवनमूल्य हरायो भने त्यही जीविकाले मानिसलाई निल्न सक्छ,‘ उनले भने ।
उनले एआईलाई केवल ‘आर्टिफिसियल इन्टेलिजेन्स’ का रूपमा मात्र नभई ‘एन्सेस्टर इन्टेलिजेन्स’, ‘फ्यामिली इन्टेलिजेन्स’, ‘नेचुरल इन्टेलिजेन्स’, ‘इमोशनल इन्टेलिजेन्स’ र ‘स्पिरिचुअल इन्टेलिजेन्स’ सँग जोडेर बुझ्नुपर्ने धारणा राखे । आधुनिक विकाससँगै आध्यात्मिकता, योग, ध्यान, आरोग्य, नैतिकता र सकारात्मक सोचलाई पनि समान महत्व दिनुपर्ने उनको भनाइ छ ।
शिक्षा प्रणालीबारे बोल्दै उनले मूल्यमा आधारित शिक्षा, संस्कृति–आधारित शिक्षा, शान्ति शिक्षा र चेतनामूलक शिक्षाको आवश्यकता औंल्याए । ‘ज्ञान र प्रविधि मात्र पर्याप्त हुँदैनन् ।
नैतिकता र आध्यात्मिक चेतनासँग जोडिएको शिक्षा भएन भने त्यही शिक्षाले समाजलाई गलत दिशामा लैजान सक्छ,‘ उनले बताए । डा.योगीले आधुनिक जीवनशैली र सनातन संस्कारबीच सन्तुलन कायम गर्दै प्रविधिलाई मानव कल्याणका लागि प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।



























