देश/प्रदेश
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

सुदूरपश्चिम, साउन १२ –
कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।
आर्थिक वर्ष २०८२र८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागुऔषध) सम्बन्धी छन् । प्रप्त विवरणअनुसार एक वर्षमा एक हजार ९४ नमूना परीक्षण सम्पन्न भएका थिए । तीमध्ये केमिस्ट्री तथा नार्कोटिक्सका एक हजार ३७ नमूना रहेको कार्यालय प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
यसैगरी विवादित प्रलेखसम्बन्धी ४१ केस प्राप्त भई ४५ परीक्षण, डिएनएसम्बन्धी तीन केस प्राप्त भई नौ वटा नमुना परीक्षण तथा बायोलोजी\सिरोलोजी तथा वन्यजन्तु शाखामा दुई केस प्राप्त भई तीन नमूना परीक्षण सम्पन्न भएका छन् ।
आवको अन्तिमअर्थात् असार महिनामा मात्रै ९१ नयाँ केसमा एक सय नौ नमूना परीक्षण गरिएका छन् । तीमध्ये ८९ केसका एक सय चार नमूना लागुऔषधसम्बन्धी रहेका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आव २०८१\८२ को वार्षिक प्रतिवेदनले पनि धनगढी शाखामा लागुऔषधसम्बन्धी परीक्षणको चाप उच्च रहेको देखाएको छ । गत आवमा शाखामा एक हजार ३३६ केसका तीन हजार ३८० नमूना प्राप्त भएका थिए । तीमध्ये एक हजार २६९ केस ९करिब (५ प्रतिशत) लागुऔषधसम्बन्धी, ३१ बायोलोजी तथा डिएनए र ३६ विवादित प्रलेखसम्बन्धी थिए ।
प्रतिवेदनअनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका जिल्ला मात्र नभई कर्णाली र लुम्बिनी प्रदेशबाट समेत लागुऔषधका नमूना परीक्षणका लागि धनगढी शाखामा आउने गरेका छन् ।
प्रयोगशालाले लागुऔषध, डिएनए, जैविक नमूना तथा विवादित कागजातको वैज्ञानिक परीक्षण गरी प्रहरी, अदालत तथा अन्य अनुसन्धान निकायलाई प्रमाणमा आधारित अनुसन्धान र न्याय सम्पादनमा सहयोग पुयाउँदै आएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो । लागुऔषध कारोबार र ओसारपसारका घटनामा वैज्ञानिक प्रमाणको महत्व बढ्दै जाँदा प्रयोगशालामा आउने नमूनाको सङ्ख्या पनि निरन्तर बढिरहेको उहाँको भनाइ छ ।
“प्रयोगशालामा आउने अधिकांश केसहरु लागुऔषधका रहेका छन् भने ती केस प्रहरीमार्फत आउँछन् । प्रयोगशाला विस्तारपछि सुदूरपश्चिममा लागुऔषध नियन्त्रण, अनुसन्धान र अभियोजनका लागि वैज्ञानिक प्रमाण उपलब्ध गराउन प्रयोगशालाको भूमिका निरन्तर बढ्दै गएको छ”, चौधरीले भन्नुभयो ।
प्रयोगशालाले आव २०८१र८२ देखि डिएनए परीक्षण सेवासमेत दिइरहेको छ । यसबाट पितृत्व तथा जैविक नाता निर्धारण, व्यक्ति पहिचान, वन्यजन्तु अपराध र अन्य जटिल घटनाको वैज्ञानिक विश्लेषण गर्न सहज भएको छ ।
सरकारको हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने नीतिअनुसार आव ०७६\७७ को अन्त्यतिर धनगढीमा शाखा कार्यालय विस्तार भई आव २०७७\७८ देखि कार्यारम्भ भएको थियो । यसले नमुना परीक्षणका लागि काठमाडौँ पढाउनुपर्ने बाध्यताको अन्त्य भई लागत र समयको बचत हुनुका साथै न्यायसम्पादनमा समेत टेवा पुगेको जनाइएको छ । रासस

























