देश/प्रदेश
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

भद्रपुर (झापा), साउन १२ –
नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२र८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।
नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कूल आगमनको ५३ प्रतिशतअर्थात् चार हजार नौ सय ९४ जना भुटानी नागरिक रहेका छन् । यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशतअर्थात् दुई हजार एक सय ५२ जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ । सबैभन्दा बढी पुस महिनामा एक हजार आठ सय ५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा दुई सय १६ जना मात्र आएका थिए ।
पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ ।
अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयले जनाएको छ । रासस

























