देश/प्रदेश
वनस्पति उद्यानभित्र नक्षत्र वाटिका निर्माण, नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण
०

जनकपुरधाम, साउन ११ –
पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम वनस्पति उद्यानभित्र निर्माण गरिएको नक्षत्र वाटिकमा नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु भएको छ ।
मधेस प्रदेश सरकारको रु आठ लाखको लागतमा आर्थिक वर्ष २०८२/८३ मा निर्माण गरिएको उक्त नक्षत्र वाटिकामा २७ वटा नक्षत्र, १२ वटा राशि र नौ ग्रहको बिरुवा रोपाइँ गर्ने लक्ष्य रहेको उद्यानका प्रमुख मो। ताहिर हुसेनले जानकारी दिनुभयो ।
नवनिर्मित नक्षत्र वाटिकामा हिजो सङ्घीय सरकारको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीले राशि अनुसारको बिरुवा रोपेर वृक्षरोपणको सुरुआत गर्नुभएको प्रमुख हुसेनले बताउनुभयो ।
उहाँका अनुसार उक्त वाटिकामा क्रमशः नक्षत्र, राशि र ग्रह अनुसारको बिरुवा रोपिनेछ । विसं २०५६ मा स्थापना भएको सो उद्यानभित्र विभिन्न विषयगत वाटिकाहरु स्थापना गरिएको प्रमुख हुसेनले जानकारी दिनुभयो । उहाँका अनुसार उद्यानभित्र धार्मिक वाटिक, नक्षत्र वाटिका, जडीबुटी शैक्षिक वाटिका, जल उद्यान, धनुष वाटिका, जलीय वनस्पति उद्यान, फूल उद्यान, ट्याक्सोनोमिकल फेमिली वाटिकालगायत संरचना निर्माण गरिएको छ ।
करिब १२० हेक्टर क्षेत्रफलमा फैलिएको वनस्पति उद्यानभित्रका प्रत्येक वाटिका र उद्यानभित्र सम्बन्धित विषयका वनस्पति तथा जडीबुटीका बिरुवा लगाइएको प्रमुख हुसेन बताउनुभयो ।
उहाँका अनुसार उक्त वनस्पति उद्यानमा हाल २७६ वनस्पति प्रजातिको संरक्षण गरिएको छ । जसमा ७४ रूख, ४८ बुट्यान, १३४ झारपात र २० लहरे प्रजातिको वनस्पति संरक्षण गरिएको छ ।
वनस्पति उद्यानमा अध्ययन र अवलोकनका लागि आउने विद्यार्थी तथा अध्येताहरुलाई आवश्यक जानकारीका लागि सूचना केन्द्र व्यवस्थापनसँगै सुगन्धित जडीबुटी र वनस्पतिको तेल प्रतिशत निर्धारण गर्न केमष्ट्री ल्याब समेत स्थापना गरिएको प्रमुख हुसेनको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालित सो वनस्पति उद्यान संरक्षण, अनुसन्धान र वातावरणीय शिक्षाको उद्देश्यले स्थापना गरिएको भए पनि मधेस प्रदेशकै सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । जनकपुरधामबाट करिब १८ किलोमिटर पूर्वमा रहेको धनुषाधाम वनस्पति उद्यान पछिल्लो केही वर्षदेखि आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्ेको वनस्पति उद्यानका कर्मचारी सुरेश भण्डारीले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



















