देश/प्रदेश
करेसाबारीबाट ‘रस्टी–स्पटेड क्याट’ संरक्षणको प्रयास
०

काठमाडौँ, साउन १० –
विश्वकै सबैभन्दा सानो जङ्गली बिरालो ‘रस्टी–स्पटेड क्याट’ अर्थात् खिया थोप्ले बिरालोको संरक्षणलाई स्थानीय समुदायको जीविकोपार्जनसँग जोड्ने उद्देश्यले बर्दियामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ ।
ठाकुरबाबा नगरपालिका–९, खुशालपुरमा आयोजित कार्यक्रममा १४ जना स्थानीय सहभागी भएका थिए । उनीहरूलाई प्राङ्गारिक तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन तथा दिगो कृषि अभ्याससम्बन्धी एकदिने तालिम प्रदान गरिएको थियो । तालिमपछि प्रत्येक सहभागीलाई कृषि औजार र मौसमी तरकारीका बीउबिजन पनि वितरण गरिएको आयोजकले जनाएको छ ।
‘स्मल वाइल्ड क्याट कन्जर्भेसन फाउन्डेसन’, मोहम्मद बिन जायेद स्पिसिज कन्जर्भेसन फन्ड र ‘रस्टी–स्पटेड क्याट वर्किङ ग्रुप बर्दिया’को सहयोगमा सञ्चालन गरिएको हो । कार्यक्रमको संयोजन रामजन चौधरीले गर्नुभएको थियो भने पशुचिकित्सक अशिष चौधरीले प्रशिक्षण दिनुभएको थियो ।
आयोजकका अनुसार घरघरमा करेसाबारीको विकास भए वनजन्य स्रोतमा निर्भरता घट्ने, वन क्षेत्रमा मानव चाप कम हुने र त्यसबाट वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले वन डढेलोको जोखिम घटाउन, अवैध सिकार न्यूनीकरण गर्न तथा रस्टी–स्पटेड क्याटका आहारा प्रजातिको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
रस्टी–स्पटेड क्याट नेपाल, भारत र श्रीलङ्कामा मात्र पाइने दुर्लभ जङ्गली बिरालो हो । यसको शरीरको लम्बाइ ३५ देखि ४८ सेन्टिमिटर र तौल शून्य दशमलव नौदेखि एक दशमलव छ किलोग्रामसम्म हुन्छ । रिरभरि रहेका खिया रङका साना थोप्लाका कारण यसलाई ‘खिया थोप्ले’ बिरालो पनि भनिन्छ ।
यो बिरालो मुख्यतः राति सक्रिय हुने, एक्लै बस्ने र अत्यन्त लजालु स्वभावको हुन्छ । मुसा, साना स्तनधारी जनावर, चराचुरुङ्गी, छेपारो, भ्यागुता तथा कीराफट्याङ्ग्राहरू यसको मुख्य आहारा हुन् । संरक्षणकर्मीका अनुसार मुसाको सङ््ख्या नियन्त्रणमार्फत पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न यस प्रजातिले महत्वपूर्ण भूमिका खेल्छ ।
कार्यक्रम संयोजक रामजन चौधरीका अनुसार विसं २०६९ मा बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको पहिलो पटक तस्बिरसहित अभिलेखीकरण गरिएको थियो । तालिम सञ्चालन भएको खुशालपुर क्षेत्र सोही आसपास पर्ने भएकाले स्थानीय समुदाय रस्टी–स्पटेड क्याट संरक्षणको महत्वपूर्ण साझेदार रहेको उहाँले बताउनुभयो ।
तालिमका क्रममा सहभागीलाई वन डढेलो नियन्त्रण, अवैध सिकार रोकथाम, वन्यजन्तुको सडक दुर्घटना न्यूनीकरण तथा प्राकृतिक बासस्थान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



















