देश/प्रदेश
बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार
०

नेपालगन्ज (बाँके), साउन १०-
बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो ।
एक सय ९१ वन्यजन्तुमध्ये सबैभन्दा बढी सर्प प्रजातिका १६४ वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ताले जानकारी दिनुभयो । तीमध्ये पनि ७६ वटा कोब्रा सर्प रहेका जनाउँदै उहाँले अधिकांश नेपालगन्ज र कोहलपुर क्षेत्रबाट उद्धार गरिएको उल्लेख गर्नुभयो ।
जिल्लाका विभिन्न स्थानबाट कोब्रा (गोमन) धामन, करेत, अजिङ्गर, रसेल भाइपर, पानी सर्प, राजगोमन, गोही, गोहोरो, नीलगाई, हुचिल, बँदेल, कालोबिरालो, चित्तल, बाँदर र बाजको उद्धार गरिएको प्रमुख गुप्ताले बताउनुभयो । जिल्लामा कोब्राबाहेक धामन ३०, करेत २५, रसेल भाइपर १३, अजिङ्गर १०, पानीसर्प र राजगोमन पाँच÷पाँच वटा उद्धार गरिएको छ ।
त्यस्तै, गोही आठ, सुनगोहोरो आठ ,चित्तल एक, नीलगाई तीन र हुचिल तीन, बँदेल, बाँदर, बाज तथा कालोबिरालो एकरएक वटा उद्धार गरिएको छ । “वनजङ्गल आसपासमा भएको वन अतिक्रमणका कारण बासस्थान सङ्कटमा परेका वन्यजन्तु आत्तिएर घरमा पनि पस्न सक्छन्”, प्रमुख गुप्ताले भन्नुभयो ।
घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिँदै आएको डिभिजन वन कार्यालय, बाँकेले जनाएको छ । उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनःस्थापना गरिएको छ ।
केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाउने गरिएको प्रमुख गुप्ताले बताउनुभयो । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उहाँको भनाइ छ ।
जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको चलहपहल बढी हुनु, जनावर बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु, पानी पिउन तालतलैया तथा नहरमा जाँदा फस्नुलगायत विभिन्न कारणले गर्दा वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका वन कार्यालयको भनाइ छ । कार्यालयले सङ्कटमा परेका वन्यजन्तुको पाँच वर्षदेखि उद्धार गर्दै आएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



















