देश/प्रदेश
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज, साउन ९ –
नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गर्नुभएको हो ।
स्व पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसँगै स्व गणेशमान सिंह, बिपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा सहिद सेतु विकका पुनर्निर्माण गरिएका शालिक नेपालगञ्जका अलगअलग स्थानमा पुनः स्थापित भएका हुन् ।
अनावरण कार्यक्रममा नगरप्रमुख विष्टले इतिहासको सम्मानका साथै ऐतिहासिक व्यक्तित्वको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले शालिक पुनर्निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी हाम्रा धरोहर हुन् जसले इतिहासलाई जीवन्त राख्ने छन् ।”
अनावरण कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताको सहभागिता थियो । स्व पूर्वप्रधानमन्त्री कोइरालाका बाहेक अन्य पाँच वटा शालिक निर्माणमा करिब रु २५ लाख खर्च भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । रासस

























