देश/प्रदेश
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
भक्तपुर, साउन ९-
यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार नारायणसुन्दर किलम्बुलाई प्रदान गरिएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठले उहाँलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
भक्तपुरको कला, संस्कृति र सम्पदाको संरक्षण तथा मुलुकको शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै किलम्बूलाई रु १० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना माता–पिताको सम्झनामा स्थापना गर्नुभएको सो पुरस्कार यसअघि पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको थियो ।
सो अवसरमा सांसद श्रेष्ठले लोकतन्त्रमा आफ्नो जाताजाति, जात्रा, धर्म, पर्व, भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न पाउनु संवैधानिक अधिकार भएको बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व किलम्बूले दुई दशकदेखि कान्तिपुर टेलिभिजनमा आफूले भक्तपुरलगायत उपत्यकाका पहिचानका रुपमा रहेका जात्रा, पर्व तथा भाषा, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।
पुरस्कारका संस्थापक श्रेष्ठले पत्रकारिता क्षेत्रको महत्व उजागार गर्दै पत्रकारको योगदानको कदर गरी प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको जानकारी दिनुभयो ।
मध्यपुर नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, दबूका संस्थाक श्रीकृष्ण महर्जन, केन्द्रीय प्रतिनिधि सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, दबूका भक्तपुर अध्यक्ष रामगोपाल तमखु, चाणक्य कलेज व्यवस्थापन समितिका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले स्थानीय भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नेपालको पत्रकारिता क्षेत्रले पु¥याएको योगदानको चर्चा गर्नुभयो । रासस

























