देश/प्रदेश

जटिल रोगको उपचार सेवा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

Banner

काठमाडौं, साउन ९ –

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा दुवै अस्पतालका वरिष्ठ चिकित्सकहरूले अत्याधुनिक उपचार प्रविधि, जटिल रोग व्यवस्थापन तथा चिकित्सा क्षेत्रमा भएका नवीनतम अभ्यासबारे अनुभव आदानप्रदान गरेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले ह्याम्सले नेपालमै उपलब्ध गराउन सकिने सबै उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्दै नेपालमा सम्भव नभएका केही अत्याधुनिक उपचारका लागि मात्र म्याक्स अस्पतालसँगको सहकार्य उपयोगी हुने बताए ।

उनले ह्याम्स र म्याक्सबीच भएको सहकार्यले विदेशमा उपचारका लागि जानुपर्ने बिरामीलाई आर्थिक, व्यवस्थापकीय तथा उपचारपछिको सेवामा सहजता प्रदान गर्ने बताए ।

‘ह्याम्समा उपलब्ध सबै सेवा यहीँ प्रदान हुन्छ । तर नेपालमा उपलब्ध नभएका केही सुपर–स्पेसियालिटी उपचार आवश्यक परे बिरामीलाई म्याक्स अस्पतालमार्फत सहज रूपमा उपचारको व्यवस्था गरिन्छ’उनले भने ।

उनका अनुसार म्याक्स अस्पतालमा जाने बिरामीले उपचार शुल्कमा विशेष सहुलियत, उपचारका लागि आवश्यक समन्वय तथा उपचार सम्पन्न भएपछि नेपाल फर्किएर ह्याम्समै नियमित फलोअप सेवा पाउने व्यवस्था गरिएको छ । यसबाट बिरामीले पटक–पटक भारत धाउनुपर्ने बाध्यता हट्ने उनले बताए ।

भण्डारीले यो सहकार्य नेपाल सरकार वा भारत सरकारको पहलमा नभई दुई निजी स्वास्थ्य संस्थाबीचको व्यावसायिक सहकार्य भएको स्पष्ट पारे। नेपालको जनसंख्या र स्वास्थ्य सेवा बजारको आकारका कारण केही अत्याधुनिक प्रविधि नेपालमा सञ्चालन गर्न आर्थिक रूपमा सम्भव नभएकाले त्यस्ता सीमित सेवाका लागि सहकार्य गरिएको उनको भनाइ थियो ।

उनले ह्याम्सले बिरामीलाई विदेश पठाउने उद्देश्य नराखेको स्पष्ट पार्दै नेपालमै सम्भव हुने सबै उपचार यहीँ गर्ने र आवश्यक परेका बिरामीलाई मात्र सहज र व्यवस्थित रूपमा म्याक्स अस्पतालमा उपचारको व्यवस्था गरिने बताए । ‘बिरामीलाई कसरी कम खर्चमा, कम झन्झटमा र सुरक्षित रूपमा उपचार उपलब्ध गराउन सकिन्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने ।

त्यस्तै ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा। ज्योतिन्द्र शर्माले सीएमई कार्यक्रम चिकित्सकहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए । कार्यक्रममा भारतको म्याक्स अस्पतालका मुटु तथा फोक्सो रोग विशेषज्ञ तथा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइरालासहित फोक्सो तथा थोरासिक सर्जन डा. रञ्जनलगायतले वैज्ञानिक कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा। शर्माका अनुसार ह्याम्स र म्याक्सबीचको सहकार्य एक वर्षभन्दा बढी समयदेखि सञ्चालनमा छ । सहकार्यअन्तर्गत चिकित्सक तथा स्वास्थ्यकर्मीको तालिम, जनशक्ति आदानप्रदान, जटिल बिरामीको संस्थागत रिफरल, उपचार व्यवस्थापन तथा आधुनिक उपचार प्रविधिको अनुभव आदानप्रदान हुँदै आएको छ ।

उनले नेपालमा अधिकांश रोगको उपचार सम्भव भए पनि हार्ट ट्रान्सप्लान्ट, लङ ट्रान्सप्लान्ट, एलभीएडी जस्ता अत्याधुनिक उपचार सेवा अझै उपलब्ध नभएकाले त्यस्ता बिरामीका लागि म्याक्स अस्पतालसँगको सहकार्य लाभदायी हुने बताए ।

उनले भने,‘हामी बिरामीलाई विदेश पठाउन चाहँदैनौं। जहाँ नेपालमै उपचार सम्भव छ, त्यहीँ गर्छौं । तर यहाँ उपलब्ध नभएका सेवाका लागि बिरामीलाई सहज, सुरक्षित र कम खर्चिलो विकल्प उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरिएको हो ।’

उनका अनुसार भारतीय अस्पतालहरूसँगको सहकार्यबाट नेपाली चिकित्सकले अत्याधुनिक प्रविधिमा तालिम र अनुभव प्राप्त गर्ने अवसरसमेत बढ्नेछ, जसले दीर्घकालमा नेपालको स्वास्थ्य सेवाको गुणस्तर उकास्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

ह्याम्स अस्पतालले म्याक्स अस्पतालसँगको सहकार्यले जटिल उपचार आवश्यक पर्ने नेपाली बिरामीलाई सहज पहुँच, गुणस्तरीय सेवा तथा उपचारपछिको निरन्तर फलोअप सुनिश्चित गर्दै नेपाल–भारतबीच स्वास्थ्य सेवा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>