देश/प्रदेश
ट्राफिक एफएम १५ औँ वर्षमा

काठमाडौँ, साउन ८-
ट्राफिक व्यवस्थापन, शान्ति, सुरक्षा र जनसरोकारका विषयमा आमनागरिकलाई सुसूचित गर्ने उद्देश्यले सञ्चालनमा आएको मेट्रो ट्राफिक एफएम १५ औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०६८ पुस २६ गते सञ्चालन अनुमति प्राप्त गरेको ट्राफिक एफएमले २०६९ जेठ २५ गतेदेखि परीक्षण प्रसारण र सोही वर्षको साउन ८ गतदेखि नियमित प्रसारणमा आएको हो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि पूर्णरुपमा अवरुद्ध भएको ट्राफिक एफएम गत पुस २६ गतेदेखि पुनः सञ्चालनमा आएको छ ।
स्थापनाको समयमा ५०० वाट क्षमता रहेको सो एफएम अहिले १००० वाट क्षमतामा सञ्चालन भइरहेको छ । सो एफएम काठमाडौँ उपत्यकाका साथै नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकको विभिन्न भूभाग र अनलाइनमार्फत विश्वभर सुन्न सकिन्छ ।
एफएम १५औँ वर्ष प्रवेश गरेको अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बिहान ५ देखि राति १० बजेसम्म ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सचेतना अभिवृद्धिमा क्रियाशील रहँदै आएको बताउनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ‘असल नागरिकलाई सिकाउनै पर्दैन।।।’ बोलको ट्राफिक जनचेतनामुलक गीत लोकार्पण गर्नुभएको थियो । त्यसअवसरमा ट्राफिक नियमसम्बन्धी विभिन्न जनचेतनामुलक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक एफएमका विज्ञापनदाता, सहयोगी संस्था र उत्कृष्ट चालकलाई सम्मान गर्नुभएको थियो । ट्राफिक एफएमको वार्षिकोत्सवका अवसरमा बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा रक्तदान कार्यक्रम गरिएको थियो । रासस

























