देश/प्रदेश

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

Banner

काठमाडौँ, साउन ८-

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

मेट्रो ट्राफिक एफएम ९५.५ को १४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित कार्यक्रममा उहाँले अपराधविरुद्ध जनचेतना फैलाउन तथा सुरक्षासम्बन्धी सही र विश्वसनीय सूचना सयममै प्रवाह गर्न एफएमले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

आगामी दिनमा क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवद्र्धनात्मक, गुणस्तरीय एवं विश्वसनीय नागरिक केन्द्रित कार्यक्रम प्रसारण गर्न एफएमलाई उहाँले निर्देशन दिनुभयो । उहाँले सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि प्रहरी, नागरिक र तीनै तहका सरकारबीच सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले नागरिक सुरक्षामा खटिइने प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ गर्न ट्राफिक एफएमले सेतुको काम गरिरहेको स्मरण गर्नुभयो ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले समाजमा शान्ति सुरक्षा र अमनचयन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन प्रहरीलाई साधनस्रोत सम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापन प्रहरीको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै आमनागरिकले पनि त्यसमा हातेमालो गर्नुपर्ने आवश्यकता औँल्यानुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सडक पूर्वाधार र प्रविधिमा लगानी गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले ट्राफिक प्रहरी, चालक र यात्रुबीच सूचनाको सेतु बन्न एफएम सफल भएको बताउनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीउधन रक्षा गर्न एफएमले ट्राफिक व्यवस्थापन, मौसम र हवाई सेवालगायत प्रत्येक ३०/३० मिनेटमा ‘ट्राफिक अपडेट’ दिँदै आएको जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>