देश/प्रदेश

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

Banner

गण्डकी, साउन ८-

कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’अन्तर्गत स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकललाई पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय बैदाम, राम बजार र बगरबाट खटिएको प्रहरी टोलीले गए राति गरेको जेकजाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सुरु गरेको ‘अप्रेसन ३६५’का क्रममा हालसम्म सात सय ७३ वटा सवारीसाधन र ३६ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको जनाइएको छ ।

उक्त अप्रेसनका क्रममा समाजमा आतङ्क सिर्जना गर्ने र चेकजाँचका बेला प्रहरीसँग वादविवाद गर्ने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो ।

मोटरसाइकलका पार्टपूर्जाहरु फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खलबलाउने जस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन गत वर्षदेखि ‘अप्रेसन ३६५’ सञ्चालन गरेको हो ।

प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाइएको छ ।

स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम रु १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>