देश/प्रदेश

झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध

Banner

भद्रपुर (झापा), साउन ५ –

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न नदी नियन्त्रण कार्यक्रमअन्तर्गत १४.७३८ किलोमिटर तटबन्ध निर्माण गरेको छ ।

नदी कटान तथा बाढीबाट जनधन र कृषियोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत झापासहित पूर्वी पहाडी जिल्लाका विभिन्न नदीमा तटबन्ध निर्माण गरिएको हो ।

आयोजनाका इन्जिनियर बलराम भण्डारीका अनुसार कार्यालयले अघिल्ला वर्षदेखि नै नदी नियन्त्रणलाई निरन्तरता दिँदै आएको छ भने गत आर्थिक वर्षमा थप १४.७३८ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको हो ।

“नदी कटानको जोखिम न्यूनीकरण गर्दै मानव बस्ती, कृषि भूमि र भौतिक पूर्वाधारको सुरक्षा गर्ने लक्ष्यका साथ हरेक वर्ष तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ”, इन्जिनियर भण्डारीले भन्नुभयो, “गत आवमा पनि भौगोलिक कठिनाइका बीच विभिन्न नदीहरूमा उल्लेखनीय प्रगति हासिल भएको छ । चालु आवमा पनि आवश्यकता र जोखिमका आधारमा तटबन्ध निर्माणलाई निरन्तरता दिइनेछ ।”

आयोजना कार्यालयका अनुसार गत आवमा विभिन्न आठवटा मुख्य नदीमा तटबन्धकोे काम भएको छ । झापाका रतुवा–मावा नदीमा १.८५४ किलोमिटर, कमलमा २.७५० किलोमिटर, कन्काईमा ३.७२५ किलोमिटर, विरिङमा ३.१३७ किलोमिटर र मेची नदीमा १.२०९ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।

त्यस्तै इलामको माई नदीमा १.२९५ किलोमिटर, पाँचथरको हेवामा ४६९ मिटर र ताप्लेजुङको काबेलीमा २९६ मिटर तटबन्ध निर्माण गरिएको छ । हेवा, काबेली र माई नदीमा गत आवदेखि पहिलोपटक नियन्त्रणको काम सुरु गरिएको आयोजनाले जनाएको छ ।

नदी नियन्त्रण तथा तटबन्ध निर्माणका ती सम्पूर्ण आयोजना कार्यान्वयनका लागि आव २०८२/८३ मा कुल रु ५८ करोड ३८ लाख २९ हजार खर्च भएको छ । आयोजना कार्यालयको समग्र वार्षिक वित्तीय प्रगतिको २९.५३ प्रतिशत रहेको जनाइएको छ ।

आयोजनाले मुख्य रूपमा झापाका ठूला नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोजनाले छिमेकी जिल्ला मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका नदी संरक्षण तथा तटबन्ध निर्माणको प्राविधिक तथा प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>