चितवन विशेष
अभिभावकलाई कम्प्युटर पढाउँदै चितवनको पुलिस स्कुल

चितवन, असार २८–
नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आफ्ना अभिभावकहरुलाई आज (आइतबार)देखी निःशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । विद्यार्थीहरुको घरेलु शैक्षिक वातावरणलाई अझै प्रभावकारी बनाउन अभिभावकहरुलाई समेत सूचना प्रविधी सम्बन्धि ज्ञान सिप प्रदान गर्ने उद्धेश्यले कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले ५ दिने निःशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गरे । यो तालिमले अभिभावकलाई कम्प्युटर सम्बन्धि दक्षता वृद्धिसंगै बालबच्चाको डिजिटल निगरानी गर्न समेत सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

अभिभावकहरुलाई कम्प्युटरको प्रयोगदेखि सामाजिक संजालबाट हुने गैह्रकानुनी गतिविधीका साथै आफ्ना छोराछोरीहरुले कम्प्युटर, मोबाईलमा के चलाउँदै छन् भन्ने सम्मको निगरानी गर्न सक्ने दक्षता प्रदान गर्न प्रशिक्षण संचालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।
अभिभावकहरुलाई कम्प्युटरको आधारभुत ज्ञान, सूचना प्रविधीको आवश्यक्ता एवम प्रयोग, साईब्रर क्राइम, विभिन्न डिजिटल एप्लिकेशनको प्रयोग, स्कुल एपको संचालनका साथै अनलाईन मार्फत हुन सक्ने ठगीको सम्बन्धमा ज्ञान सिप प्रदान गर्ने विषयवस्तु समेटेर पाँच दिनको तालिम आयोजना गरिएको हो । पहिलो चरणको तालिममा १ देखी ५ सम्म अध्ययरत विद्यार्थीहरुको २० जना अभिभावक सहभागी छन् । विद्यालयको कक्षा १ देखी ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकलाई दैनिक डेढ घण्टा विद्यालयका शिक्षक, प्रविधी सम्बन्धी ज्ञान भएका प्रहरी कर्मचारीहरुले प्रशिक्षण संचालन गर्ने छन् ।
‘विद्यार्थीलाई नियमित पठनपाठनमा सूचना प्रविधीका साथै विभिन्न डिजिटल साधन स्रोतको प्रयोग अनिवार्य जस्तै भएको छ, तर अभिभावकले उक्त तथ्यलाई गलत तबरले बुझिदिने र विद्यार्थीहरुले समेत प्रविधीको दुरुपयोग गरेर पठनपाठनलाई बेवास्ता गर्ने जस्ता समस्या पनि देखिएको छ’ समादेशक थापाले भने–अभिभावकहरुलाई सूचना प्रविधीको महत्व, आवश्यक्ता र सदुपयोका बारेमा जानकारी गराउँदा विद्यार्थीहरुको घरेलु शैक्षिक वातावरण सृजनात्मक एवम सहज बनाउन सहयोग पुग्छ ।’
नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा कक्षा एक देखी १० सम्म गरी ७ सय विद्यार्थी अध्ययरत छन् ।





























