नवलपरासी
किसानलाई अनुदानमा कृषि सामग्री वितरण

त्रिवेणी (नवलपरासी),असार २८ –
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई रु ९२ लाख मूल्यबराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ ।
कृषि क्षेत्रको प्रवर्द्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखाका देवचुलीका प्रमुख गगन भट्टराई बताउनुभयो । देवचुली नगरपालिकाले कृषि नवप्रवर्द्धन साझेदारी परियोजनामार्फत किसानलाई कृषि सामग्री हस्तान्तरण गरेको हो । कृषि विकास शाखाका प्रमुख भट्टराईका अनुसार नवप्रवर्द्धन साझेदारी परियोजना, नगरपालिका र किसानहरूको पचास–पचास प्रतिशतको लागत सहभागितामा कृषि सामग्री वितरण गरिएको हो ।
यस कार्यक्रमबाट १३ भन्दा बढी कृषक समूह, ७० भन्दा बढी उद्यमी तथा व्यावसायिक किसान लाभान्वित भएका छन् । किसानहरूको आवश्यकता र मागका आधारमा सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले ३० वटा छ हर्जपावरका हातेट्याक्टर, २८ वटा सात हर्जपावरका हातेट्याक्टर, सातवटा धान काट्ने मेसिन, मकै रोप्ने मेसिन ९ज्याब प्लान्टर० २१ वटा, पुस सिडर चारवटा, मकै छोडाउने मेसिन ९कर्न थ्रेसर० १० वटा, कुटानी–पिसानी मेसिन छवटा, दाना बनाउने मेसिन एक, तौल लिने मेसिन एक, धान तथा गहुँ काट्ने, थ्रेसिङ गर्ने कम्बाइन हार्भेस्टर एक तथा ट्रेलर एकलगायतका आधुनिक कृषि सामग्री वितरण गरेको छ ।
ठूला ट्याक्टर सञ्चालन गर्न कठिन हुने पहाडी क्षेत्रका किसानलाई लक्षित गर्दै हातेट्याक्टर वितरण गरिएको शाखाले जनाएको छ । यसै कार्यक्रममा देवचुली–४ वडा कार्यालयले पनि किसानका लागि तीनवटा सात हर्जपावरका हातेट्याक्टर, दुईवटा मकै रोप्ने मेसिन ९ज्याब प्लान्टर०, चारवटा पुस सिडर र दुईवटा कुटानी–पिसानी मेसिन वितरण गरेको छ । उक्त सामग्री खरिदका लागि वडा कार्यालयले रु तीन लाख बजेट विनियोजन गरेको थियो ।
देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले किसानको आर्थिक विकासका लागि अनुदानमा कृषि उपकरण उपलब्ध गराएको बताउनुभयो । उहाँले आधुनिक कृषि सामग्रीको प्रयोगले उत्पादनशीलता वृद्धि हुनुका साथै कृषि व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । किसानहरूको उत्प्रेरणा बढाउँदै जीवनस्तर उकास्न नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
रासस



























