देश/प्रदेश

सञ्चार माध्यमको मास म्यानिपुलेसन र युवा नेतृत्वमाथिको प्रहार

Banner

प्रबिन भट्टराई

काठमाडौं, असार २५

अहिले म ३६ वर्षको परिपक्व उमेरमा उभिएको छु । जीवनका उतारचढावहरूलाई नजिकबाट नियाल्दै गर्दा लाग्छ, सफलताको शिखरमा पुग्नुभन्दा बढी गाह्रो त समाजको संकुचित मानसिकता र युवाहरूलाई नेतृत्वमा देख्न नसक्ने पुरातनवादी शक्तिसँग लड्नु रहेछ ।

हालसालै विभिन्न सञ्चार माध्यमहरूमा मेरो करियरको प्रारम्भिक चरणलाई लिएर जसरी अत्यन्तै तल्लो स्तरको भाषा प्रयोग गरी चरित्रहत्या गर्ने प्रयास गरियो, त्यसले मेरो आत्मसम्मानमा मात्र चोट पु‍¥याएको छैन, बरु हाम्रो देशको पत्रकारिताको स्तर, राजनीतिक नियत र सामाजिक चेतनामाथि नै एउटा ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ ।

कुनै पनि मानिस आफ्नो २३/२४ वर्षको उमेरमा, स्नातक तहको अध्ययन नै पूरा नहुँदै आकाशबाट खसेर सिधै देशको सर्वोच्च पदमा पुग्दैन् । त्यो अल्लारे उमेरमा, खुला प्रतिस्पर्धा र लोकसेवा आयोगको कडा विधि पार गरेर मैले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको ‘रेस्क्यु एन्ड फायर फाइटिङ’ विभागमा स्थायी जागिर खाएको थिएँ ।

आज म गर्वका साथ भन्छु, उड्डयन क्षेत्र प्रति मेरो जुन अगाध प्रेम र लगाव छ, त्यसको सम्पूर्ण श्रेय म त्यही सुरुवाती जागिरलाई दिन्छु । त्यो मेरो लागि लज्जाको विषय होइन, बरु उड्डयन क्षेत्रलाई भुइँतहबाट बुझ्ने मेरो सिकाइको सबैभन्दा बलियो जग थियो ।

तर विडम्बना १ हाम्रो समाज र मिडियाले मेहनत गरेर अघि बढ्ने मानिसलाई उसको क्षमताको कदर गर्नेभन्दा पनि खुइल्याउने प्रवृतिले गर्दा सहि व्यक्ति सहि ठाउँमा पुग्न सक्ने अवस्था छैन् । कुनैपनि जागिर वा पद्मा प्रतिस्पर्धा गरेर अघि बढ्ने मानिसलाई पनि शंका गरेर राजनितीक पावर र भनसुनको भरमा आएको होला भन्ठान्ने प्रवृछि पछिल्लो समय झनै बढेको छ ।

हामी जातभातका कुरा त गर्छौँ तर त्योभन्दा कडा रोग त यहाँ पद र कामको आधारमा मानिसको वर्गीकरण गर्ने सामन्ती सोचको रहेछ । एउटा तल्लो तहमा बसेर इमानदारीपूर्वक काम सुरु गरेको युवा जब आफ्नो क्षमता, प्राज्ञिक योग्यता र अन्तर्राष्ट्रिय अनुभवको बलमा देशको राष्ट्रिय ध्वजावाहक, नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य जस्तो जिम्मेवार नेतृत्वदायी भूमिकामा पुग्छ, तब यहाँका स्थापित स्वार्थी समूहहरूको निद्रा हराउँछ ।

मलाई नेपाल एयरलाइन्सको बोर्ड सदस्यबाट हटाउनकै लागि नियोजित रूपमा मेरो विगतलाई बङ्ग्याएर जुन दुष्प्रचार गरियो, त्यसले के पुष्टि गर्छ भने, यो देशको प्रणाली अझै पनि योग्य र दक्ष युवाहरूलाई नीतिनिर्माण तहमा स्वीकार गर्न तयार छैन ।

मैले फ्रान्स सरकारको अत्यन्तै कडा र प्रतिस्पर्धात्मक छात्रवृत्ति प्राप्त गरी युरोपकै प्रतिष्ठित एभिएसन विश्वविद्यालय इएनएसी बाट मानवरहित विमान प्रणाली (ड्रोन प्रविधि)मा स्नातकोत्तर गरेँ । मन्त्रालय र विश्वविद्यालयको त्यो कडा प्रतिस्पर्धा पार गर्नु कुनै राजनीतिक पहुँच वा चाकडीको विषय थिएन ।

सिंगापुरको मरीना बे स्यान्ड्समा आयोजित ‘इन्टर एयरपोर्ट साउथइस्ट एसिया २०२३’ प्रदर्शनी तथा सम्मेलन’ को उच्चस्तरीय अन्तर्राष्ट्रिय प्यानल डिस्कसनमा मैले मलेसियन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत र आइएटिएका क्षेत्रीय प्रमुखहरूसँग मञ्च सेयर गरेँ ।

अन्तर्राष्ट्रिय स्तरमै क्यानडा एभिएसन कलेज क्यानडामा इन्स्ट्रक्टरको रूपमा नागरिक उड्डयन सुरक्षा व्यवस्थापन प्रणाली तथा विमान चालकदल व्यवस्थापन जस्ता अत्यन्तै संवेदनशील प्राविधिक विषयहरू अध्यापन गराएबापत मैले पाएको सम्मान मेरो देशकै सम्मान थियो ।

छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कुनै दिन चिया बेच्नु हुन्थ्यो र आज उहाँ विश्वकै विशाल लोकतन्त्रीक देशको प्रधानमन्त्री हुनुहुन्छ । त्यहाँका सञ्चार माध्यमले त्यसलाई गर्व र प्रेरणाको कथा बनाउँछन् । तर हाम्रो देशका केही पीत पत्रकार र अदृश्य शक्तिहरु भने एउटा युवाको इमानदार सुरुवातलाई हतियार बनाएर उसको वर्तमानको योग्यता, तीनवटा फरक विषयको स्नातकोत्तर उपाधि र देशका लागि गरेको योगदानलाई सखाप पार्न उद्धत हुन्छन् । के नेपाली मिडिया र समाजले श्रमको सम्मान गर्ने यति सानो सकारात्मक पाठ पनि सिक्न सक्दैन रु

आज म ड्रोन हब नेपालको प्रबन्ध निर्देशक र मानव रहित विमान संघ नेपालको महासचिवका रूपमा देशमा ड्रोन प्रविधिलाई संस्थागत गर्न लडिरहेको छु । लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत सञ्चालित नेपालकै पहिलो मानव रहित हवाइ प्रणाली व्यवस्थापन कोर्सको पाठ्यक्रम संवद्र्धन समितिको अध्यक्ष तथा फ्याकल्टी हेडको रूपमा देशका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनको नेतृत्व गरिरहँदा म सोध्छु कि मिडियाले यो अन्तर्राष्ट्रिय प्रतिष्ठा र योगदानको पाटोलाई किन नियतवश लुकायो ?

हाम्रो देशमा जति नै जेनजी आन्दोलन र परिवर्तनका कुरा गरे पनि, युवाहरूलाई वास्तविक नेतृत्व र नीतिनिर्माणको भूमिकामा देख्न नचाहने एउटा संकुचित शक्ति र तप्का आज पनि उत्तिकै हाबी छ । नारामा युवाका कुरा गर्ने तर व्यवहारमा उनीहरूको प्रतिनिधित्व गराउन नसक्नु नै वर्तमान सरकार र यो व्यवस्थाको सबैभन्दा ठुलो चुनौती हो ।

पद सानो वा ठुलो हुन्न, व्यक्तिको दृष्टिकोण र क्षमता ठुलो हुन्छ । मिडियाको एउटा हिस्साले गर्ने यस्ता ुमास म्यानिपुलेसनु ले मेरो कठोर परिश्रम र योग्यतालाई कत्ति पनि कम गर्न सक्दैन । ममाथि गरिएको यो प्रहारले मलाई कमजोर बनाउने छैन, बरु नेपालको उड्डयन र ड्रोन प्रविधिको विकासमा थप दृढताका साथ लागिरहन मलाई झन बलियो ऊर्जा दिनेछ । श्रमको सम्मान र युवा नेतृत्वको कदर गर्न नसक्ने समाज कहिल्यै समृद्ध हुन सक्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>