Breaking News

हावाहुरी चलेको बेला के गर्ने, के नगर्ने ?

०
Banner

काठमाडौं , असोज १० –

हावाहुरीका बेला सावधानी नअपनाउँदा घर तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै मानवीय दुर्घटनासमेत हुन सक्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी चलेका बेला सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

हावाहुरी सुरु भएपछि घरका झ्याल तथा ढोका बन्द गर्न र घरभित्र रहेका आगोका स्रोत बन्द गर्न प्राधिकरणले सुझाव दिएको छ। मोटरसाइकल वा गाडी चलाइरहेको भए सडकको सुरक्षित स्थानमा रोकेर हावाहुरी कम नभएसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ।

हावाहुरीका बेला भिडभाडमा परेमा आत्तिएर भागदौड गर्न नहुने प्राधिकरणले जनाएको छ। विस्तारै सुरक्षित स्थानमा जान र खुला ठाउँमा भए सुरक्षित स्थान खोजेर बस्न सुझाव दिएको छ। सुरक्षित ओत नभेटिए घुँडा टेकेर दुवै हातले टाउको छोपेर घोप्टो पर्न पनि सुझाइएको छ।

त्यस्तै, हावाहुरी चलिरहेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि बस्न नहुने प्राधिकरणले जनाएको छ। बिजुलीको तार लत्रिएको देखिएमा नछुन र बिजुलीको तारमा वस्तु छोएको हुनसक्ने अवस्थामा विद्युतीय उपकरण नचलाउन आग्रह गरिएको छ।

हावाहुरीका कारण उडेर आएका सामानबाट चोट लाग्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

हावाहुरी चल्दा गर्ने काम 

घरका झ्याल र ढोका बन्द गर्ने।

आगोका स्रोत बन्द गर्ने।

सवारी चलाइरहेको भए सुरक्षित स्थानमा रोक्ने।

भिडभाडमा नआत्तिने र भागदौड नगर्ने।

खुला स्थानमा भए सुरक्षित ठाउँमा जाने।

सुरक्षित ओत नभए घुँडा टेकेर दुवै हातले टाउको छोपेर घोप्टो पर्ने।

हावाहुरी चल्दा नगर्ने काम 

कमजोर संरचना, अग्ला रुख तथा बिजुलीका खम्बा र तारमुनि नबस्ने।

लत्रिएको बिजुलीको तार नछुने।

बिजुलीको तार छोएको हुनसक्ने अवस्थामा विद्युतीय उपकरण नचलाउने।

हावाले उडाएर ल्याउन सक्ने वस्तु भएको जोखिमयुक्त स्थानमा नबस्ने।

यसअघि मौसम पूर्वानुमानमा समेत केही प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना जनाइएकाले सम्भावित जोखिमबाट जोगिन पूर्वसतर्कता अपनाउनु आवश्यक रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>