तनहुँ
आँबुखैरेनी र चितवन जोड्ने झोलुङ्गे पुल निर्माणका लागि एक करोड बजेट विनियोजन

तनहुँ, असार २० –
जिल्लाको आँबुखैरेनी र चितवन जोड्ने त्रिशूली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन भएको छ ।
आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९, चितवन र आँबुखैरेनी गाउँपालिका–४ र चितवनको इच्छाकामना गाउँपालिका, जोड्ने त्रिशूली नदीमा पुल निर्माणका रु ५० लाखका दरले बजेट विनियोजन भएको हो ।
दुई स्थानमा झोलुङ्गे पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाको आवश्यकता र अनुरोधलाई विशेष प्राथमिकता राखेर मन्त्रालयबाट बजेट विनियोजन भएको छ, उहाँले भन्नुभयो, “यस कार्यले हामीलाई थप हौसला र अघि बढ्न प्रेरणा मिलेको छ ।”
उहाँका अनुसार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री डा दिनेशचन्द्र देवकोटा र मन्त्रालयका प्रदेश सचिव इञ्जिनियर ईश्वरचन्द्र मरहठ्ठाको विशेष भूमिका रहेको छ ।



























