चितवन विशेष
वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा प्रा.डा.सिंह नियुक्त

चितवन, असार १८–
चितवनको भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक प्रा.डा.योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघिका अध्यक्ष डा.विजय न्यौपानेको कार्यकाल चैतदेखि समाप्त भएपछि अस्पतालमा अध्यक्ष पद रिक्त रहेको थियो । स्वास्थ्य मन्त्रालयले खुल्ला प्रतिष्पर्धामा अध्यक्षका लागि आवेदन माग गरेको थियो । सोही आधारमा सिफारिस गरिएका अन्तिम तीन जना आवेदक मध्ये सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उमेश नेपालले अध्यक्षमा नियुक्त डा.सिंह केहीदिनमै पदबहाली गर्ने तयारी भइरहेको बताए ।
अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट प्रा.डा सिंहसहित डा.अजयकुमार झा र डा. विजय चन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि खुला आवेदन माग गरेकोमा कुल ८ जनाको आवेदन परेको थियो। तीमध्ये एक जनाको प्रक्रिया नपुगेपछि मन्त्रालयले ७ जनाको प्रारम्भिक सूची (शर्टलिष्ट) सार्वजनिक गरेको थियो।
अध्यक्षमा नियुक्त डा सिंह त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवापछि अवकाश प्राप्त वरिष्ठ चिकित्सक हुन् । लामो समयदेखि अध्यक्ष रिक्त हुँदा अस्पतालका कर्मचारीले तलब समेत पाएका थिएनन् । वैशाखदेखि रोकिएको तीन महिनाको तलब अब अध्यक्षले कार्यभार सम्हाल्ने बित्तिकै भुक्तानी गरिने निमित्त कार्यकारी निर्देशक डा.नेपालले जानकारी दिए ।



























