खेलकुद

जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

Banner

काठमाडौं, असार १३ –

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा कप्तान लियोनेल मेस्सी सुरुआती टोलीमा नरहने पुष्टि गरेका छन् । अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले प्रतियोगितामा हालसम्म अर्जेन्टिनाका पाँचै गोल गर्दै टोलीलाई अल्जेरिया र अस्ट्रियाविरुद्ध लगातार जित दिलाएका छन् । ती दुई जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक स्कालोनीले मेस्सीलाई विश्राम दिन लागिएको बताउँदै आवश्यक परे खेलको दोस्रो हाफमा मैदान प्रवेश गराइने जानकारी दिए । उनले जोर्डनविरुद्ध मैदान उत्रने खेलाडीहरूले अवसर पाउन योग्य रहेको उल्लेख गर्दै टोलीका सबै सदस्यले प्रशिक्षणमा उत्कृष्ट मेहनत गरिरहेको बताए ।

‘भोलि खेल्ने खेलाडीहरू मैदानमा उत्रिन योग्य छन् । उनीहरू टोलीका महत्वपूर्ण सदस्य हुन् । प्रशिक्षणमा उनीहरूले गरेको मेहनतकै कारण हामी यहाँसम्म आइपुगेका हौं। अवसर पाए सबैलाई खेलाउन चाहन्छु,’ स्कालोनीले भने।

जोर्डनले प्रायः पाँच डिफेन्डरको रणनीतिमा खेल्ने भएकाले अर्जेन्टिना पनि आवश्यक परे आफ्नो रणनीतिमा परिवर्तन गर्न तयार रहेको उनले बताए । अर्जेन्टिना र जोर्डनबीचको खेल शनिबार अमेरिकाको टेक्सास राज्यस्थित आर्लिङ्टनको एटी एन्ड टी स्टेडियममा हुनेछ । अर्जेन्टिनाले यसअघि नै समूहको शीर्ष स्थान सुरक्षित गरिसकेकाले यो खेलको नतिजाले समूहको अन्तिम अवस्था परिवर्तन गर्ने छैन । यता, जोर्डन भने अस्ट्रिया र अल्जेरियासँग लगातार पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । न्यूज बैंक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>