चितवन विशेष

आकर्षक गजलकृति ‘अनायास’ प्रति एकाग्र दृष्टि

(कृति समीक्षा)

०
Banner

आने में सदा देर लगाते ही रहे तुम जाते रहे हम जान से,

आते ही रहे तुम –‘रासिख’ अजीमाबादी बगरमा बालुवाको घर…

– (समीक्षक केशवराज आमोदी )

आने में सदा देर लगाते ही रहे तुम
जाते रहे हम जान से, आते ही रहे तुम
–‘रासिख’ अजीमाबादी

बगरमा बालुवाको घर बनाउन खोज्दै छ ऊ
र त अरुको बस्तीमा आगो लगाउन खोज्दै छ ऊ
(अनायास, ग. सं., पृ. ५४)

पिता हरिप्रसाद पौडेल र माता कुमकुमारी पौडेलका पुत्ररत्नका रुपमा चितवनको भरतपुर–५, कैलाशनगरमा २०४४ माघ ४ गते रामकृष्ण पौडेलको जन्म भएको हो । लेखनको आरम्भ २०५८ बाट गरेका अनायासले फुच्ची जमुनासँग युगलरुपमा ‘धमिलिएका डोबहरु’ (सवाल–जवाफ संयुक्त गजलसङ्ग्रह) प्रकाशनमा ल्याएझैँ ‘अनायासका पानाहरु’मार्फत ई–गजलकृति इन्टरनेटद्वारा रसास्वादन गर्न सकिन्छ । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान सदस्य रहेका  चितवन मेडिकल कलेजमा क्रियारत रहँदै गजल मञ्च चितवनको वर्तमान नेतृत्व कुशलतापूर्वक समाल्दै आइरहेका अनायासले कविता, गीत, गजल, मुक्तक, हाइकु र लघुकथाहरुमा हात बसालिसकेका छन्, तापनि यिनी गजलका लागि बेसी समर्पित र सफल देखिन्छन् ।

रामकृष्ण अनायासको कृतिले मलाई विशेष मोहनी लगाउनुको के पनि कारण छ भने मेरो प्रमुख आतिथ्यतामा ‘प्रत्यूष, अन्जानमा गयौ कि ? र अनायास’ विमोचित हुनुभन्दा पनि प्रेम प्रणय, सामाजिक सद्भाव, स्वाधीनताका साथै सामाजिक विकृति र विसङ्गतिप्रति खरो विचार सम्प्रेषणले आकर्षित भएको हुँ ।

आजभोलि गजलको लोकप्रियता बढ्दो गतिमा छ । सिकारूदेखि लिएर राष्ट्रस्तरका लब्धप्रतिष्ठित साहित्यकारहरुसमेत गजल लेख्न र सुन्न रूचाउँछन् । गजलका कृति नै तयार पार्नेहरुको सङ्ख्या तोक्न पनि गाह्रो भइसकेको छ ।

यतिखेर मेरो हातमा रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास’ (२०८२) आइपरेको छ । यस कृतिको अग्रपृष्ठहरुमा समालोचक रमेश प्रभातको प्रकाशकीय र भूमिका तथा कृतिकारको मन्तव्य र पश्चावरणमा लेखराम सापकोटा र बालकृष्ण थपलियाका विशेष भनाइहरुले कृतिको ओज बढाएझैँ लाग्दछ ।

सामान्यतः गजल भनेको कोमलकान्त पदावलीले समन्वित रदिफोकाफियाको अनुशासनमा रहेर सुकुमार शैलीमा सिर्जना गरिने लयात्मक रचना हो । नेपाली साहित्यमा बहुप्रतिभाशाली युवाकवि मोतीराम भट्ट (विसं १९२३–१९५३) ले गजललाई उर्दू फारसीबाट नेपाली साहित्यमा भित्र्याएका हुन् । युवायुवती बीचको हार्दिकतापूर्ण प्रणयवार्तामा केन्द्रित रचनालाई गजलका रुपमा हेरिए पनि युगीन परिवर्तनसँगै गजलप्रतिका धारणाहरुमा पनि परिवर्तित हुँदै आइरहेका छन् ।

‘जब दो दिल मिलते हैं तो गजल बनते हैं’ बाट परिवर्तित भई ‘जब दो वर्ग आपस में टकराते हैं तो गजल बनते हैं’ मा पल्लवित भई ओइलाउन थालिसकेको छ । गजलको उच्च मूल्याङ्कन गर्दै उर्दू फारसी साहित्यमा स्वतन्त्र, अनुपम र विशिष्ट काव्यात्मक विधाका रुपमा स्थापित गरिए पनि नेपाली साहित्यमा भने कविताको उपविधामा राखेर अध्ययन गर्ने गरिन्छ ।
गजलका साधकहरुले शेर, रदीफ, काफिया, मिसरा, मत्ला, मक्ता, मुसलसल गजल, गैरमुसलसल गजल, मुरद्दफ गजल र गैरमुरद्दफ गजल, रूक्न, अरकान र बहर आदिका प्राविधिक र शास्त्रीय शब्दहरुसहित यसका संरचनात्मक पक्ष, विषयात्मक पक्ष र कलात्मक पक्षका बारेमा राम्ररी बुझ्नुपर्दछ ।

अनायासका रचनामा दृष्टि फेर्दा उनले गजलका नीति नियम बुझेर लेखेका हुन्जस्तो लाग्दछ । यस कृतिमा ७० वटा गजलहरु सङ्कलित छन् । बैँसे पिरती, हार्दिकता, शान्ति, स्वाधीनता, हक, अधिकारसहित सामाजिक, राजनीतिक र सांस्कृतिक तहमा कालो बादलझैँ फैलिरहेको विकृति विसङ्गतिप्रति गजलकारले तीव्र हुुङ्कार भरेका छन् । गजल कति सुन्दर र पठनीय छन् तलका शेरका बान्कीबाट सहजै अनुमान लगाउन सकिन्छ । यथा–

मेरा गजललाई त्यति कमजोर नठान महाशय !
म गजल लेखेरै यो सरकार गिराउन सक्छु !
(पृ. ७)

फूललाई के थाहा कति बेला झर्छु भनेर
हेर्नु त मान्छेको घमन्ड सोच्दैन मर्छु भनेर ।
(पृ. ८)

अस्पतालबाटै बिरामीको मिर्गौला चोरिएपछि
डाक्टरले अरुको भावना बुझेन नाफा कमाउनुअघि ।
(पृ. ३०)

हेर ! मधेश जलाएर पहाड ढलाउँदै छन् छिमेकीले
आफ्नै झन्डा गाड्ने अनि शासन चलाउँदै छन् छिमेकीले ।
(पृ. ४०)

तिर्खाएको तिम्रो प्यासको पानी बन्छु भन्थ्यौ
संसार देख्ने त्यो आँखाको नानी बन्छु भन्थ्यौ ।
(पृ. ६५)

चर्चित गजलकार रामकृष्ण अनायासले आगामी दिनहरुमा पनि यस्तै राम्रा र स्तरीय कृतिहरु प्रकाशनमा ल्याउन र गजलका प्यासीहरुको तिर्खा मेटाउन सकून् भन्ने हार्दिक शुभेच्छासहित लेखनी थाम्दछु ।

सर्वे भवन्तु सुखिनः !!

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>