खेलकुद

बागमती प्रदेश खेलकुदमा सहभागी खेलाडीलाई खेल सामग्रीसहित बिदाई

Banner

चितवन, असार १–

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडीहरुलाई बिदाई गरिएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले आज (सोमबार) उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई खेलसामग्रीसहित बिदाई गरेको हो ।

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ देखि ९ गतेसम्म मकवानपुरको हेटौंडा, काठमाडौं, ललितपुर र चितवनमा हुँदैछ । सोही प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई समितिका अध्यक्ष राजन कार्कीलगायतले खेल सामग्रीसहित बिदाई गरेका हुन् । बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई समितिले पहिलो पटक खेलसामग्री ट्र्याकसुटसहित भव्य बिदाई गरेको समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए ।

समितिले फुटबल, क्रिकेट, भलिबल महिला पुरुष, बक्सिङ, एथ्लेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, बुद्धिचाल, जुडो, टेबल टेनिसका दुई सय ५ जना खेलाडी तथा प्रशिक्षकलाई ट्र्याकसुटसहित बिदाई गरेको हो । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको मनोवल उच्च बनाउन समितिले ईतिहासमा नै पहिलो पटक ट्र्याकसुटसहित बिदाई गरेको अध्यक्ष कार्कीले बताए ।

यस्ता गतिविधिबाट खेलाडीले अभिभावकत्व महसुस गर्ने र नतिजा पनि राम्रो ल्याउन मद्त मिल्ने उनको भनाइ थियो । उनले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न शुभकामना पनि दिए । प्रतियोगिता अन्तर्गत चितवनमा कराते र महिला क्रिकेट हुनेछ । अन्य खेल भने हेटौंडा, काठमाडौं र ललितपुरमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>