स्वास्थ्य
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर

मान्म (कालीकोट), असार १ –
कालीकोटको दुर्गम गाउँ पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका छन् ।
पलाँता गाउँपालिका–४ छलाहाँमा गत जेठ ३० र ३१ गते सञ्चालित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका पाएको जनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट खटिएको २५ सदस्यीय विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले दुई स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा आठ जना विशेषज्ञ चिकित्सक सेवा प्रदान गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।
शिविरमा परिवार योजना सेवा, सामान्य रोग उपचार, पाठेघरको मुखको क्यान्सर परीक्षण, भिडियो एक्सरे, दन्त सेवा, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा तथा निःशुल्क औषधि वितरणलगायतका सेवाहरू उपलब्ध गराइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कालीकोटका व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।
शिविरमा पाठेघरको मुखको जाँच २११, प्रयोेगशाला सेवा ५१ जना, फिजियोथेरापी सेवा ५६ जना, युसजी सेवा, दुई ६२ जना र दन्त सेवा ४३ जनालाई गरिएको डा सुनारले बताउनुभयो । “शिविरमा दम, मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगहरूको परीक्षण गरिएको छ”, उहाँले भन्नुभयो, “दुर्गम गाउँमा पहिलोपटक निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।”रासस
























