चितवन विशेष
विश्व रक्तदाता दिवसः रक्तअभाव र व्यवस्थापन

अर्जुन अधिकारी–
आज जुन १४, २३ औँ विश्व रक्तदाता दिवस। मानव जीवन बचाउन निस्वार्थ रूपमा रक्तदान गर्ने लाखौँ स्वेच्छिक रक्तदाताहरूप्रति सम्मान प्रकट गर्ने दिनका रूपमा यो दिवस विश्वभर मनाइन्छ। रक्तदान केवल रगत दिने कार्य मात्र होइन, यो मानवता, जिम्मेवारी र सामाजिक एकताको उत्कृष्ट उदाहरण पनि हो।
नेपालमा पछिल्ला वर्षहरूमा रक्तदानप्रतिको आकर्षण बढेको छ। विभिन्न सामाजिक संस्था, युवा क्लब, स्थानीय तह, स्वास्थ्य संस्था तथा अभियन्ताहरूले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छन्। विभिन्न अवसरमा हुने रक्तदान कार्यक्रमहरूले आवश्यक रगत संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन्। तर यति हुँदाहुँदै पनि रक्त अभावको समस्या दिगो रूपमा न्यूनीकरण गर्नु अझै चुनौतीपूर्ण बनेको छ।
रगतको आवश्यकता कुनै निश्चित समय वा मौसममा मात्र हुँदैन। दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर, थालासेमिया, डेंगीलगायतका बिरामीहरूलाई वर्षभरि रगत आवश्यक पर्छ। त्यसैले रक्तदानलाई कार्यक्रम केन्द्रित नभई नियमित र व्यवस्थित अभियानका रूपमा विकास गर्न आवश्यक छ।
नेपालमा वार्षिक रूपमा करिब ४ देखि ५ लाख युनिट रक्ततत्त्व आवश्यक पर्ने अनुमान गरिन्छ। स्वास्थ्य सेवाको विस्तार र उपचार सेवामा आएको सुधारसँगै यो आवश्यकता निरन्तर बढिरहेको छ। चितवन जिल्लाको मात्र कुरा गर्ने हो भने वार्षिक ६० हजारभन्दा बढी पिन्ट रगत आवश्यक पर्ने अवस्था छ भने दैनिक औसत १०० देखि १५० पिन्ट रगत विभिन्न अस्पतालहरूमा आवश्यक पर्छ। यी तथ्यांकहरूले रक्त व्यवस्थापनको चुनौती र यसको महत्वलाई स्पष्ट रूपमा देखाउँछन्।
रक्तदाता बढाउने मूल आधार भनेको प्रेरणा हो। धेरै मानिसहरू रक्तदान गर्न सक्षम हुँदाहुँदै पनि विभिन्न भ्रम, डर वा पर्याप्त जानकारीको अभावका कारण रक्तदानमा सहभागी हुन सकिरहेका छैनन्। रक्तदानले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने गलत बुझाइ अझै समाजका केही वर्गमा विद्यमान छ। यस्ता भ्रम हटाउन वैज्ञानिक तथ्यमा आधारित जनचेतनामूलक अभियान आवश्यक छ।
हरेक रक्तदातालाई रक्तदान गर्दा हुने फाइदा, यसको सामाजिक महत्व र कसैको जीवन बचाउन सकिने सन्तुष्टिबारे जानकारी दिन सकियो भने रक्तदानप्रतिको सकारात्मक सोच अझ विस्तार हुन सक्छ। रक्तदानलाई केवल आवश्यकताका बेला सम्झिने विषय होइन, नियमित सामाजिक जिम्मेवारीका रूपमा स्थापित गर्नुपर्छ।
नयाँ रक्तदाता उत्पादन गर्ने विषयमा पनि विशेष ध्यान दिन आवश्यक छ। विद्यालय, कलेज तथा विश्वविद्यालय तहबाटै रक्तदानबारे सचेतना अभिवृद्धि गर्न सकियो भने भविष्यका नियमित रक्तदाता तयार गर्न सहज हुनेछ। युवाहरूलाई रक्तदान अभियानसँग जोड्न सक्नु नै दीर्घकालीन समाधानको आधार हो।
त्यसैगरी नियमित रक्तदाताहरूप्रति विश्वासको वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। रक्तदाता स्वयं वा उनका परिवारलाई आवश्यक पर्दा सम्बन्धित निकायबाट उचित सहयोग र समन्वय प्राप्त हुने विश्वास दिलाउन सकियो भने नियमित रक्तदान गर्ने संस्कृतिलाई अझ मजबुत बनाउन सकिन्छ। रक्तदाता सम्मानित र सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु समयको आवश्यकता हो।
आज विश्व रक्तदाता दिवस मनाइरहँदा रक्त अभावको समस्या समाधानका लागि केवल कार्यक्रमको संख्या बढाउनु पर्याप्त हुँदैन। नियमित रक्तदाता वृद्धि, प्रभावकारी व्यवस्थापन, जनचेतना विस्तार र रक्तदानप्रति सकारात्मक संस्कार निर्माण गर्न सकियो भने मात्र दिगो समाधान सम्भव हुनेछ।
रगत कृत्रिम रूपमा उत्पादन गर्न सकिँदैन। यसको एकमात्र स्रोत स्वस्थ र स्वेच्छिक रक्तदाता नै हुन्। त्यसैले रक्तदाताको सम्मान, नयाँ रक्तदाता उत्पादन र रक्तदान संस्कृतिको विकास आजको सबैभन्दा ठूलो आवश्यकता हो। रक्तदान जीवनदान हो, र जीवन बचाउने यो अभियानमा सबैको साझा जिम्मेवारी र सहभागिता अपरिहार्य छ।
(लेखक अधिकारी चितवनका रक्त अभियन्ता तथा नियमित रक्तदाता हुन्)
























