देश/प्रदेश

दाङका गन्धर्व समुदाय वैकल्पिक पेसा अपनाएर जीविकोपार्जन गर्दै

Banner

दाङ, जेठ ९ –

पहिलेपहिले गाउँंगाउँमा पुगेर सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्व समुदायले केही वर्षदेखि पुर्खौली पेसा छोडेर आयआर्जनका लागि वैकल्पिक पेसा अँगालेका छन् ।

आधुनिक गीतसङ्गीतप्रति आकर्षण बढ्नु, प्रविधिको विकासका साथै समाजले आफूहरूलाई हेर्ने दृष्टि फरक भएकाले परम्परादेखिको पेसा छोडेर आत्मनिर्भर बन्नका लागि वैकल्पिक पेसा अँगालेर जीविकोपार्जन गर्दै आएको उहाँहरूको भनाइ छ ।

बीस वर्ष पहिलेदेखि जिल्लाका ग्रामीण क्षेत्रका साथै तुलसीपुर, घोराही, लमहीका बजारक्षेत्रमा गीत गाउँदै हिँड्नुभएका तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर गन्धर्व टोलका ६० वर्षीय गोपाल गन्धर्वले पुर्खौली पेसाबाट आम्दानी हुन छाडेपछि वैकल्पिक पेसा रोज्न बाध्य भएको बताउनुभयो ।

“हामीलाई समाजले हेला गर्ने दृष्टिकोण, आधुनिक गीतसङ्गितको आकर्षण बढ्नु, राज्यले पनि वेवास्ता गर्नुलगायत कारणले गाउने पेसाबाट खानलाउन नपुग्ने अवस्था आएपछि पाँच वर्षपहिले पुर्खौली पेसा छोडेर दैनिक मजदुरीलगायत अन्य काम गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । सोही पेसाबाट घरखर्च चलाउने, नातीनातीना पढाउनेलगायत खर्च व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो ।

गोपालका अनुसार यस टोलमा ६३ परिवार छन् भने रक्षाचौरस्थित गणेश गन्धर्व टोलमा चार सयबढी गन्धर्व परिवार बसोबास गर्दै आएका छन् । अहिले यस टोलका पाँच जनाले मात्र पुर्खौली पेसा अँगालेका उहाँले जानकारी दिनुभयो । ती पाँच जना पनि कुनै काम नपाएको बेलामा मात्र गाउँदै हिँड्छन् । हातमुख जोड्न साह्रै मुस्किल परेकाले यो पेसा गर्न नपरोस् भन्ने सोच सबैको रहेको गोपालले बताउनुभयो ।

अहिलेको पुस्ताले गायन पेसाप्रति देखाएको उदासीनताले आफ्नो जातिको अस्तित्व सङ्कटमा पर्नसक्ने चिन्ता बढेको गणेशटोलका ७६ वर्षीय शालिकराम गन्धर्वले बताउनुभयो । युवापुस्तालाई आर्थिक रूपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचान जोगाउन पुर्खौली पेसा अँगाल्न सकिने उहाँको भनाइ छ ।

शालिकरामका अनुसार अहिले गन्धर्व समुदायका बालबालिका अध्ययनका लागि विद्यालय जान थालेका छन् । युवाहरू आयमूलक काम, ज्याला, मजदुरलगायत काममा आबद्ध हुन थालेका छन् महिलाले वनजङगलबाट सालको पाट टिपेर तुलसीपुर बजारमा बिक्री गरी आम्दानी गर्न थालेका उहाँले जानकारी दिनुभयो । कपिय युव भने भारतमा ज्याला मजदुरी गर्न गएका छन् ।

पुर्खाहरू सल्यानको हिउल्चाबाट दाङमा आएका स्थानीय टेकबहादुर गन्धर्वले बताउनुभयो । उहाँका अनुसार पुर्खौली पेसाबाट हातमुख जोर्न मुस्किल भएपछि पलायन भएका गन्धर्व हाल दाङको तुलसीपुर, घोराही, पातेटाकुरा, एकलीलगायत स्थानमा फलफूल तथा तरकारी बिक्री गर्ने, ज्याला, मजदुरी, माछा मार्ने, मादल बनाउनेलगायत काम गरेर जीविकापार्जन गर्दै आएका छन् ।

“आफू पनि पहिले मानामुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पालगायत स्थानसम्म पुग्ने गर्दथे । सो पेसाबाट घरपरिवार पाल्न नसकेपछि हाल तुलसीपुरमा आएर मजदुरी गर्दै आएको छु”, टेकबहादुरले भन्नुभयो । जातीय पहिचान बोकेका गन्धर्वको संस्कृति, परम्परा र पुर्खौली पेसा हराउन थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“गाइनेहरूले हिजोआज गायकगायिकाका गीतहरू मात्र सुनाउने गर्दछन् । आफूले खासै मेहनत नगरेकाले पनि परम्परागत शैली हराइसकेको छ । त्यस्तै अहिले युट्युब, टिकटकले गर्दा गन्धर्वका गीत सुन्न कसैले रुचाउँदैन”, टेकबहादुरले भन्नुभयो । सोही कारणले अधिकांश युवा रोजगारीका लागि भारतमा जाने गरेका उहाँको भनाइ छ ।

नयाँ गायकको नक्कल गर्ने, सामाजिक सञ्जाल र सञ्चारमाध्यमको बढ्दो प्रयोग तथा युट्युब हेर्ने प्रवृत्तिले लोकप्रिय ‘कर्खा भाका’ हराउन लागेकामा गन्धर्व समुदायका अगुवा एवं गायक सुशील गन्धर्व चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने ‘कर्खा भाका’ अहिले सबैलाई गाउन आउँदैन । गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले नेपाली संस्कृतिको एउटा अध्याय मेटिने हो कि भन्ने डर लागेको छ ।”

कक्षा ९ को नेपाली विषयमा लोकबाजा भन्ने पाठमा आफ्ना बारेमा लेखिएको पाउँदा अत्यन्तै खुसी लागेको लागको सुशीलले बताउनुभयो । स्थानीय सरकारबाट हालसम्म आफूले वा समुदायले कुनै पनि सहयोग नपाएको भन्दै कला, संस्कृति र मौलिक परम्परा संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न स्थानीय सरकारले विशेष योजनासहित प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“हरेक चुनावमा हामीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिन्छ । लोपोन्मुख यो संस्कृतिको जगेर्नाका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र यस समुदायका युवालाई रोजगारी तथा आयआर्जनका काममा लगाउन राज्यले उचित नीति बनाउनुपर्छ”, उहाँले माग गर्नुभयो ।

पहिला सञ्चारको विकास नभएको समयमा समाजमा भएका राम्रा, नराम्रा घटनालाई गीत बनाएर सुसेल्ने गन्धर्वको पेसा हराउँदै जानु नेपाली संस्कृतिका लागि विडम्बनाको विषय भएको संस्कृतिविद् एवं प्राचार्य निर्मला डाँगीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजमा भएका विकृतिलाई सारङ्गीको मीठो धून अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पुर्खौली पेसाको संरक्षण गर्न सबैले पहल गर्नुपर्छ । साथै गन्धर्वले पनि आफ्नो पेसाप्रति गर्व गर्नुपर्छ ।”

नेपाली संस्कृतिको पहिचान दिलाउने लोकगीत पनि ओझेलमा पर्ने भएकाले यसलाई संरक्षण गरी संस्कृतिलाई पुनःजीवन दिनुपर्ने शिक्षिका कमला चापागाईले बताउनुभयो । गन्धर्वको पेसा संरक्षण, प्रवर्द्धका साथै मौलिक परम्पराको रक्षा गर्न तीनै तहका सरकार, विभिन्न सङ्घसङ्गठन तथा सरोकार भएका निकायले आपसी सहकार्य र समन्वयमार्फत योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>