देश/प्रदेश
मिस्त्रीखोलामा माछा पाइन छाडे

म्याग्दी, जेठ ९-
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा पाइन छाडेका छन् ।
जलविद्युुत आयोजना निर्माण भएपछि मिस्त्रीखोलामा पानीको सतह घट्न घट्दा त्यसको असर माछालगायत जलचरमा परेको हो । अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङको बाँसबोटका अविन चोचाङ्गीले खोलामा बग्ने पानी जलविद्युुत् आयोजनाको बाँधदेखि सुरुङमार्फत विद्युत्गृहमा पुग्न थालेपछि माछा, पाहा पाइन छाडेको बताउनुभयो ।
“पहिले मिस्त्रीखोलामा प्रशस्त माछा, पाहा पाइन्थ्यो, पानी सुुकेपछि अहिले पाइन छाड्यो,” उहाँले भन्नुभयो “खोलामा भएको १० प्रतिशत पानी छाडेपनी सतह घटेपछि माछालगायत जलचरले बासस्थान छाड्दा रहेछन् ।”
विस २०७७ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएपछि नारच्याङ्को दोभिल्नादेखि कालीगण्डकीको दोभानसम्म हिउँदको मङ्सिरदेखि जेठ महिनासम्म मिस्त्रीखोलामा न्युन मात्रामा पानी बग्ने गर्छ । मुख्य याममै माछा पाइन छाडेपछि माछा मारेर जिविकोपार्जन गर्दै आएकाले ज्याला मजदुरी र खेती किसानीको वैकल्पिक पेशा रोजेको बताउँछन् ।
बाँसबोट, नारच्याङ, पटार टोलका बासिन्दाले मिस्त्रीखोलामा माछा मार्ने गरेका थिए । अन्नपूूर्ण र निलगिरि हिमालको फेदीबाट बगेर आउने चिसो पानीमा हुुर्किएका मिस्त्रीखोलाका असला माछाको प्रमुख बजार पर्यटकीयस्थल भुरुङ्ग तातोपानी हो । स्थानीय माछाले माग धान्न नसकेपछि बाहिरबाट मगाउनुुपरेको होटल ब्यवसायी अमृतमान शेरचनले बताउनुभयो ।
असला माछाको स्थानीय बजार भाउ प्रतिकिलोग्राम रु एक हजार ५०० देखि एक हजार ७०० रहेको छ । अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले जलविद्युत् आयोजनाबाट भौतिक पूर्वाधार र आर्थिक हिसाबले फाइदा पुगेपनि नदीमा पाइने जलचर पाइन छाडेको, पानीका परम्परागत मुुहान सुकेर वैकल्पिक ब्यवस्था मिलाउनुुपरेको र वन्यजन्तुले बासस्थान छाड्ने असर देखिएको बताउनुुभयो ।
“हाइड्रो आएपछि सडक यातायात सुविधा, स्थानीय पूर्वाधार आयोजनामा सहयोग, प्रभावितलाई सेयर लगानीको अवसर मिल्नुका साथै केही नकारात्मक असर पनि देखिएका छन,” उहाँले भन्नुभयो “सबैभन्दा ठूलो असर माछालगायत जलचर पाइन र नजिकका जङ्गलमा वन्यजन्तुु देखिन छाडेका छन् ।”
नियमअनुसार १० प्रतिशत पानीलाई खोलामा छाड्न लगाइएको र समय समयमा अनुुगमन तथा निगरानी गरिएको वडा अध्यक्ष फगामीले बताउनुभयो । नारच्याङ ऊर्जा गाउँको रूपमा परिचित छ । यहाँ ७१ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि पहिलो, ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला, छ दशमलब पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सकिएर सञ्चालनमा आएका छन् ।
६६.५ मेगावाटको मध्य कालिगण्डकी र नौ दशमलब १२ मेगावाटको सुपर घलेम्दी निर्माणाधिन छन् । १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । १२ मेगावाट क्षमताको मिस्त्रीखोला ‘क्यासकेड’ सर्वेक्षणको प्रक्रियामा छ ।रासस



























