चितवन विशेष
पढ्दै गर्दा भूकम्प आयो भने के गर्ने ? पुलिस स्कुलका विद्यार्थीलाई गराईयो अभ्यास

चितवन, वैशाख २३–
विपदीय घटना कति बेला आउँछ भन्ने कुरा पुर्वानूमान गर्न सकिंदैन । तर त्यसबाट हुने क्षतिको न्यूनीकरण र सुरक्षीत हुने उपायबारेमा बेलैमा जानकारी लिन सकिन्छ । अझ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आकस्मिक रुपमा हुने विपदीय घटनाको सम्बन्धमा जानकारी दिने, सुरक्षित हुने तौर तरिका सिकाउने र सो सम्बन्धी अभ्यस्त हुन प्रशस्त अभ्यास गराउन जरुरी छ । यही अवस्थालाई मध्यनजर गर्दै चितवनको भरतपुरस्थित नेपाल प्रहरी स्कुल शान्तिपुरले शैक्षिक सत्रको शुरुवातमै विद्यालयमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक र कर्मचारीहरुलाई विपदीय घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणको सम्बन्धमा प्रशिक्षण प्रदान गरेको छ ।
आकस्मिक रुपमा हुन सक्ने विपदीय घटनाहरु भूकम्प, आगलागी, चट्याङ, हावाहुरी आउँदा कसरी सुरक्षित हुने, शिक्षक तथा कर्मचारीहरुले उक्त समयमा के कसरी कार्य गर्ने जस्ता विषयमा नमुना अभ्यास गरेर सचेतनामुलक कार्यक्रम संचालन गरेको हो । अभ्यासको क्रममा भूकम्प आएको एउटा काल्पनिक घटना सृजना गरी अध्ययरत विद्यार्थीहरुलाई कक्षा कोठामा हुँदा के कसरी सुरक्षित हुने, कक्षामा भएका शिक्षकहरुले के–कस्तो भूमिका हुने, विद्यालयको सुरक्षित हुने स्थान छनौट गर्ने, सुरक्षित स्थानसम्म कसरी जाने, कुन कक्षाको विद्यार्थी कहाँ जम्मा हुने लगाएतका विषयमा शिक्षक, विद्यार्थी एवम कार्यरत कर्मचारीहरुलाई अभ्यास गराईएको थियो । अभ्यासको क्रममा घाईते विद्यार्थीको उपचार, खोजतलास, अन्य निकायसंग समन्वय जस्ता विषयमा समेत शिक्षक कर्मचारीका साथै विद्यार्थीहरुलाइ समेत अभ्यस्त बनाईएको थियो ।

नेपाल प्रहरीको विपद व्यवस्थापनसंग सम्बन्धीत कार्यालयका दक्ष प्रशिक्षक, स्वास्थ्यकर्मी, विद्यायमा कार्यरत सुरक्षाकर्मी समेतको सहयोगमा विपदीय घटनाको सम्बन्धमा पूर्व तयारीको अभ्यास गरिएको हो । अभ्यास पश्चात शैक्षिक सत्र भरि विद्यालय संचालन हुँदा कुनै प्रकारको आकस्मिक विपदीय घटना भएमा कुन शिक्षक कर्मचारीहरुले के कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा जिम्मेवारी समेत प्रदान गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । नेपाल प्रहरी स्कुलले शैक्षिक सत्रको शुरुवात भएकै दिन ‘घर जस्तै सेवा, परिवार जस्तै हेरचाह’ भन्ने मुल नाराका साथ आफ्ना सम्पूर्ण विद्यार्थीहरुको स्वास्थ्य जाँचको कार्यक्रम समेत सम्पन्न गरेको थोयो ।

अभिभावकहरुलाई सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकता प्रति प्रतिवद्धता राखेर नियमित पठनपाठन गरिरहेको नेपाल पुलिस स्कुलले विद्यार्थीहरुलाई पठनपाठन बाहेका अन्य विविध गतिविधीमा सहभागी गराउँदै आएको समादेशक थापाले बताउनु भयो । यस विद्यालयमा शैक्षिक सत्र २०८३ को पठनपान वैशाख २१ देखी सुरु गरिएको छ ।






























