तनहुँ

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

Banner

दमौली (तनहुँ), वैशाख ५ –

अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लागि विभिन्न विकासका आयोजना समावेश गर्न आग्रह गर्नुभएको छ । उहाँले प्राथमिकताका आधारमा आयोजनाहरू पेस गर्दै बजेट सुनिश्चित गर्न अर्थमन्त्री डा वाग्लेको ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष चुमानले जिल्लामा रहेका सडक, पुल, धार्मिक पर्यटन, स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रका महत्त्वपूर्ण आयोजनाहरू अघि सार्नुभएको छ । उहाँका अनुसार सडकतर्फ छिम्केश्वरी-हिलेखर्क-बन्दिपुर सडक स्तरोन्नतिका लागि रु ३० करोड, बरादी-हिलेखर्क-गिरनचौर(साते खण्ड) सडकका लागि रु २० करोड, पुलजीप(घुमाउने हुँदै देवघाट जोड्ने सडकका लागि रु ५० करोड तथा आँबुखैरेनी रिङरोड मर्मतका लागि र १० करोड बजेट माग गरिएको छ ।

पुल निर्माणतर्फ घुमाउने पुल आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, बरालुङबेँसीमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाउने तथा पाँचकिलोस्थित जीर्ण झोलुङ्गे पुललाई स्थानान्तरण गरी नयाँ मोटरेबल पुल निर्माण गर्ने प्रस्ताव गरिएको अध्यक्ष चुमानले बताउनुभयो । छिम्केश्वरी सडक खण्डअन्तर्गत सिर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि रु आठ करोड बजेट आवश्यक रहेकाबारे अर्थमन्त्रीलाई जानकारी गराइएको उहाँले उल्लेख गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष चुमानका अनुसार धार्मिक पर्यटनतर्फ छिम्केश्वरी क्षेत्रको विकासका लागि रु १० करोड, अकला क्षेत्रका लागि रु पाँच करोड र आँधीमुल क्षेत्र विकासका लागि रु पाँच करोड बजेट माग गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा आँबुखैरेनी(१ सत्रसयमा दश रोपनी जग्गा अस्पतालका लागि प्राप्त भइसकेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष चुमानले थप १०० रोपनीसम्म विस्तार गर्न सकिने भएकाले सो क्षेत्रमा एक सय शय्याको ट्रमा अस्पताल स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरिएको बताउनुभयो । पृथ्वी राजमार्गसँग जोडिएको रणनीतिकस्थान भएकाले यहाँ अस्पताल विस्तार भएमा गोरखा, तनहुँ र लमजुङका बासिन्दालाई समेत सेवा पुग्ने उहाँको भनाइ छ ।

शिक्षातर्फ बहुप्राविधिक शिक्षालय स्थापना, आँबुखैरेनी क्याम्पसमा स्नातकोत्तर कार्यक्रम सञ्चालन, विभिन्न विद्यालयमा विद्युतीय बस, छात्रावास तथा आधुनिक प्रयोगशाला व्यवस्थापनका लागि बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानीतर्फ हिलेखर्क(छिम्केश्वरी(लोप्राङ एकीकृत खानेपानी आयोजना निर्माणका लागि रु १० करोड तथा सत्रसय खानेपानी शुद्धीकरण आयोजनाका लागि रु पाँच करोड बजेट विनियोजन गर्न प्रस्ताव गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>