राजनीति
फूट र विभाजनले कम्युनिस्ट आन्दोलन् रक्षात्मक बन्योः धर्मेन्द्र बास्तोला

काठमाडौं, मंसिर १० –
नेकपा (नयाँ बहुमत)का नेता धर्मेन्द्र बास्तोलाले कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न व्यक्ति केन्द्रीतबाट समुहिक नेतृत्व प्रणाली अवलम्बन गरेको जनाएका छन् ।
बिहीबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनले दलाल पुँजीवाद अन्त्य गरी वैज्ञानिक समाजवादी क्रान्तिका लागि सबै क्रान्तिकारी शक्ति एक हुनेपर्नेमासमेत जोड दिएका छन् ।
बास्तोलाले टुटफूट र विभाजनले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकोले त्यसलाई एकताबद्ध बनाउनुर्ने आवश्यक रहेको बताउँदै भने,‘हामीले अध्यक्ष, महासचिव वा सभापतिसहितको नेतृत्व प्रणालीलाई हटाएका छौं, यो सबैले लागु गर्दा उचित हुन्छ ।’
उनले अन्तर्राष्ट्रिय परिस्थितिबारे धारणा सार्वजनिक गर्दै पार्टीले रुस–युक्रेन युद्ध तथा अमेरिका–इरान युद्धलगायतका घटनालाई विश्वव्यापी अन्तरविरोधको अभिव्यक्तिका रूपमा व्याख्या गरे ।
विश्व कम्युनिस्ट आन्दोलनलाई समाजवादी दिशामा अघि बढाउन अन्तर्राष्ट्रिय कम्युनिस्ट एकताको आवश्यकता रहेको बास्तोलाको कथन छ ।
त्यसैगरी बास्तोलाले नेपालको संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
पार्टीका कार्यालय सदस्य बाबुराम गजमेरले हालै धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र रविन्द्र श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९जनपक्ष० बीचको पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नयाँ बहुमत) पुनर्गठन भएका जनाए ।
नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले उक्त एकतालाई नेपाली तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याहरू समाधान गर्दै आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने प्रयासका रूपमा व्याख्या गरे ।
पार्टी कार्यालय सदस्य इन्दिरा अधिकारीले लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा हाबी हुँदै आएको पद केन्द्रित व्यक्तिगत नेतृत्व प्रणालीको अन्त्य गरी विचार केन्द्रित सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने आफूहरुले प्रयास गरेको बताइन् ।
पार्टीमा महासचिव, अध्यक्ष वा सभापतिजस्ता प्रमुख पद नराखी महाधिवेशनलाई सर्वोच्च निकाय बनाउने र महाधिवेशन नभएको अवस्थामा केन्द्रीय समिति, पोलिटब्युरो, संगठन ब्युरो तथा केन्द्रीय कार्यालयमार्फत काम सञ्चालन गर्ने नीति लिइएको पनि अधिकारीले जानकारी दिइन् ।
नेता गजेमरले २०८३ मंसिर ६ देखि ९ गतेसम्म सम्पन्न पार्टी एकता बैठकले नेकपा९नयाँ बहुमत० नामाकरण गरेको जनाए । उनले नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा अघि सार्दै संयुक्त समाजवादी सरकार निर्माणको प्रस्ताव जनतामाझ लैजाने निर्णय भएको बताए ।
गजेमरले आफ्नो पार्टीले दलाल पुँजीवादलाई नेपालको प्रमुख समस्या भन्दै वैदेशिक पुँजीको प्रभाव, राष्ट्रिय सम्पत्तिको दोहन, औद्योगिकीकरणमा अवरोध र युवाशक्तिको विदेश पलायनलाई त्यसका प्रमुख परिणामका रूपमा चित्रण गरेकोसमेत बताए ।
























