दुर्घटना

नवलपरासी दुर्घटना अपडेट : यस्तो छ घाइतेहरूको सूची

Banner

नवलपरासी, चैत १४-

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–४ घिउ खोलास्थित पूर्व(पश्चिम राजमार्गमा गएराति सवारी दुर्घटना भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रकले सोही दिशाबाट आउँदै गरेका बस र पिकअप गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने उद्धारमा खटिएका एक जना प्रहरीसहित १६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति अन्दाजी २:४० बजेको समयमा ना ७ ख ९३९८ नम्बरको ट्रकले लु २ ख २३५१ नम्बरको बस र ना ५ च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो। ठक्करपछि पिकअप सडकको छेउमै रोकिएको थियो भने बस र ट्रक सडकबाट करिब १०० देखि २०० मिटर तल खसेका थिए।

दुर्घटनामा ज्यान गुमाउने तीनै जना पुरुष हुन्। मृत्यु हुनेमा रोल्पाको बागमारा बस्ने अन्दाजी २५ वर्षका गोबिन बुढा रहेका छन्। अन्य दुई जना अन्दाजी २५–२६ र २८–३० वर्षका पुरुषको भने नाम, थर र ठेगाना खुल्न सकेको छैन। मृतकहरूको शव जिल्ला अस्पताल परासीमा राखिएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वीर दत्त पन्तले जानकारी दिए।

 

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बर्दघाट र जिल्ला ट्राफिक प्रहरीबाट ५२ जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। अँध्यारो र भिरालो ठाउँमा उद्धार गर्ने क्रममा चिप्लिएर लड्दा इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० कमल प्रसाद आचार्यसमेत घाइते भएका छन्। उनलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको छ।

घाइतेहरूको चिसापानी अस्पतालमा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको छ। बुटवलमा उपचाररत घाइतेहरूमा बसमा सवार रोल्पाका मरिचमान घर्तीमगर, बस चालक हिमाल घर्तीमगर, किरण पुन मगर, सुशिला नेपाली, मोतिलाल डाँगी, झुप बहादुर घर्ती र तिर्थ बहादुर पुन रहेका छन्।

 

यसैगरी कञ्चनपुरका लोकराज ओझा, बर्दियाका ट्रक चालक सागर चौधरी र जीवन चौधरी, काठमाडौँकी लक्ष्मी खत्री, दाङका खिम बहादुर नेपाली र अन्दाजी २५ वर्षकी पहिचान नखुलेकी एक महिलाको पनि बुटवलमै उपचार भइरहेको छ। पहिचान नखुलेकी ती महिलाको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम छ।

त्यस्तै, पिकअप चालक चितवनका आषिक गुरुङ र चितवनकै विशाल चेपाङको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान जारी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>