चितवन विशेष
स्टार्स मन्टेश्वरी एकेडेमीले रक्तदान कार्यक्रम गर्ने

चितवन, चैत १२–
स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुर–११, मालपोत चोकले यही चैत २१ गते शनिबार विहान ८ बजेदेखि विद्यालयको प्राङगणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
अहिले बढ्दो रगत अभावलाई परिपुर्ती गर्ने उद्देश्यले आयोजना गरिने रक्तदान कार्यक्रमका लागि भरतपुर महानगरपालिका वडा नं. ९, १०, ११ र १२ अन्तर्गतका सम्पूर्ण टोल विकास संस्थाहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ। साथै, भरतपुर महानगर क्षेत्रमा रहेका विभिन्न विद्यालयहरू तथा मन्टेश्वरी प्रिस्कुलहरूको पनि उल्लेखनीय सहभागिता रहने विश्वास लिइएको छ।
शिक्षा क्षेत्रसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएको स्टार्स मन्टेश्वरी एकेडेमीले यस प्रकारका मानवीय तथा जनहितका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विद्यालयले समाजप्रति आफ्नो उत्तरदायित्व पूरा गर्ने प्रयास स्वरूप यो अभियान सञ्चालन गरिने भएको हो।
वि.सं. २०६५ सालमा पोखरामा स्थापना भई २०६७ सालदेखि भरतपुरमा सञ्चालनमा आएको स्टार्स मन्टेश्वरी एकेडेमी प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा अग्रणी संस्था रूपमा स्थापित हुँदै आएको छ। विगत १७ वर्षदेखि बालबालिकाको सर्वाङ्गीण विकास, व्यवहारिक शिक्षा र नवीन शिक्षण पद्धतिमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस संस्थाले शैक्षिक मात्र नभई सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छ।
विद्यालयका व्यवस्थापन पक्षका अनुसार, यस कार्यक्रममार्फत रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको छ। सम्पूर्ण इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई यस पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरिएको छ।


























