चितवन विशेष

सामुदायिक वनको सामाजिक पारिस्थितिक आयाम बारे चर्चा

Banner

कोमल चन्द्र भगत

चितवन, फागुन ६–

सामुदायिक वनको सामाजिक पारिस्थितिक आयामहरू विषयक परिचयात्मक गोष्ठी सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय चितवनमा बुधबार भएको कार्यक्रममा हाल भइरहेको एक अनुसन्धानको विषयमा छलफल गरिएको हो । त्रिभुवन विश्वविद्यालय राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गतको उत्कृष्ट अनुसन्धान परियोजना अन्तर्गत सिन्धुपाल्चोकको ठोकर्पा र चितवनको बरण्डाभार क्षेत्रमा अहिले परियोजना सञ्चालनमा छ । अहिलेको बदलिँदो सामाजिक, राजनीतिक र वातावरणीय अवस्था, मानिस र वनसँगको सम्बन्धलाई मध्यनजर गर्दै भविष्यको सामुदायिक वनको अवधारणा कस्तो हुनुपर्छ भन्ने हेतुले तीन वर्षका लागि यो परियोजना अघि बढाईएको हो ।

यो अनुसन्धानको बारेमा परियोजनाका प्रमुख अनुसन्धानकर्ता सहप्राध्यापक डा. सोनी बरालले प्रकाश पार्नुभएको थियो । त्यस्तै प्राध्यापक डा. कृष्णराज तिवारीले यस अनुसन्धानको महत्त्व र यसको अवधारणामा थप प्रकाश पार्नुभएको थियो । त्यस्तै प्राध्यापक डा. वीरबहादुर खनाल क्षेत्रीले यस परियोजनाले भविष्यमा पुर्‍याउन सक्ने ठोस योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

वन कार्यालयका वन अधिकृतहरू दिनेश हुमागाईं र तारा शिवाकोटीका साथै २३ जना कर्मचारीहरूले यो अनुसन्धान समय सापक्ष रहेको बताएका थिए । परियोजनाले भविष्यमा वन संरक्षणमा मात्र केन्द्रित नभई सदुपयोग मुखी हुनुपर्ने भन्ने कुरालाई ध्यानमा राखी अर्थपूर्ण सुझावहरु दिदै तथ्यमा आधारित नीति बनाउन सहयोग गर्ने बताइएको छ । यसमा संलग्न अनुसन्धानकर्ताहरू सुष्मा पौडेल, गंगामाया न्यौपाने र सम्राट सुवेदीको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>