खेलकुद
इन्दु घाइते भएपछि क्यानले पूजालाई तोक्यो राष्ट्रिय महिला टोलीकी कप्तान

काठमाडौं, माघ १८-
राष्ट्रिय महिला क्रिकेट टोलीकी नयाँ कप्तान पूजा महतो नेपाली बनेकी छन् । फेब्रुअरी १३ देखि २२ सम्म थाइल्यान्डमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) राइजिङ स्टार्स वुमन्स एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पूजालाई कप्तानको जिम्मेवारी दिएको हो ।
नियमित कप्तान इन्दु बर्मा गत सोमबार स्कटल्यान्डसँगको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टीट्वेन्टी विश्वकप ग्लोबल छनोट खेलमा घाइते भएकी थिइन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा इन्दुले चोटका कारण बिचमै मैदान छाडेकी थिइन् ।
क्यानका प्रवक्ता छुमबी लामाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै इन्दु आठदेखि १२ सातासम्म मैदान बाहिर रहने जानकारी दिएका थिए । इन्दु घाइते भएपछि क्यानले शनिबार पूजाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । पूजाले सन् २०२३ को अगस्टमा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् ।

























