चितवन विशेष
१७ दिनपछि त्रिशुलीमा गाडी उत्खनन् रोकियो

चितवन, माघ १३–
अन्ततः १७ दिनपछि त्रिशुली नदी किनारमा भेटिएको गणपति डिलक्स बस उत्खनन् कार्य रोकिएको छ । गाडी उत्खनन् गर्न असहज भएपछि बाहिर देखिएका पार्टपूर्जा टुक्रा पारेर निकालिएसंगै बस उत्खनन् कार्य आज (मंगलबार)देखि पूर्ण रुपमा बन्द गरिएको हो ।
तनहुँको आबुखैरेनी गाउँपालिका–५, दोङद्राङबेसीस्थित त्रिशुली नदी किनारमा गत पुस २७ गते गाडीको केही भाग फेला परेपछि बस उत्खनन् कार्य सुरु गरिएको थियो । उत्खनन्को क्रममा २०८१ असार २८ गते चितवनको भरतपुर–२९, सिमलतालबाट पहिरोसहित त्रिशुलीमा खसेका दुई वटा गाडी मध्ये गणपति डिलक्स रहेको पुष्टि भएपछि उत्खनन् कार्यलाई थप तिव्रता दिईएको थियो ।
सोमबार साँझ एउटा मानव अवशेष समेत फेला परेको थियो । उक्त अवशेष थप परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । उत्खनन् गर्दा देखिएको गाडीको भाग सबै पार्टपुर्जा काटेर निकालिएकोले थप उत्खनन् कार्य बन्द गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवलाल तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए ।
तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोलीले निरन्तर उत्खनन् गरिरहेको थियो ।


























