चितवन विशेष
भरतपुरको श्री नयाँ सबुज गणमा माघीको रौनक

चितवन, माघ २–
बिहीबार थारु समुदायले धुमधामका साथ माघी पर्व मनाए । थारु गाउँमा जस्तो माघीको रौनक थियो भरतपुरमा रहेको श्री नयाँ सबुज गणमा पनि त्यस्तै रौनक देखियो । थारु पल्टनको रुपमा रहेको यस गणमा अधिकांश थारु समुदायका छन् । त्यही कारण माघ १ गतेका दिन यहाँ विशेष माघी उत्सव कार्यक्रम आयोजना गरियो ।
गणका गणपति दिनेश लामाले यस प्रकारको सांस्कृतिक परम्पराहरुले गणको कार्यक्षमता मात्र नभई मनोबल, एकता र गौरबलाई सुदृढ बनाउदै आएको बताए । ‘यस गणमा तराई समुदायको विशेष बाहुल्यता छ, यसलाई थारु पल्टनको रुपमा समेत लिइन्छ, गणको स्थापनादेखि नै माघी पर्वलाई विशेष रुपमा मनाउँदै आइएको छ’–गणपति लामाले भने ।
माघी विशेष कार्यक्रमको प्रमुख अतिथि श्री मध्य पृतना हेड क्वाटरका पृतनापति उपरथी कुमार खड्का र विशेष अतिथि प्रबन्धरथी हरेन्द्र पाठकले उद्घाटन गरेका थिए । त्यसपश्चात विभिन्न थारु समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । वि.सं.२०६३ जेठ २८ गते महोत्तरी जिल्लामा स्थापना गरिएको यस नया“ सबुज गण स्थापनापछि ओखलढुंगा, सुर्खेत, हेटौंडा हुँदै २०८० वैशाखदेखि चितवन भरतपुरमा तैनाथ रहँदै आएको छ ।


































