Breaking News

त्रिशुली नदी किनारमा देखिएको बसको अवशेष सोमबार पनि उत्खनन् गरिने

०
Banner

चितवन, पुस २७–

तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङस्थित त्रिशुली नदी किनारमा फेला परेको एउटा बसको अवशेष भोलि पनि उत्खनन् गरिने भएको छ ।

डेढ वर्षअघि चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित त्रिशुली नदीमा खसेको बस नै उक्त अवशेष हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीयबासीले आइतबार विहान बालुवामा पुरिएको अवस्थामा बसको केही भाग भेटिएको खबर गरेपछि इलाका प्रहरी कार्यालय आबुखैरेनीको टोली उक्त स्थानमा पुगेको थियो । केही घरेलु उपकरण प्रयोग गरेर बालुवा पन्छाउँदा निलो रङको गाडीको अगाडिको केही भाग देखिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार सिमलताल दुर्घटनामा परेको गणपति डिलक्सको बस नै अवशेष भेटिएको बस हुन सक्ने देखिएको छ ।

प्रहरीले उत्खनन् गर्दा पानी निस्कन थालेपछि थप उत्खनन्का लागि शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिटारको टोलीले उक्त स्थानमा पुगेको थियो । उनीहरुले उत्खनन्को प्रयास गरेपनि बसको अगाडिको पुरै भाग निकाल्न कठिन भएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल बसको अवशेष भेटिएको स्थान पुग्नु भएको थियो । उहाँले सोमबारबाट पुनः उत्खनन् सुरु गर्न निर्देशन समेत दिनुभएको छ ।

२०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>