चितवन विशेष
चितवनको उपरदाङगढीमा ऐतिहासिक हतियार (चण्डी तोप) राखियो,पर्यटक बृद्धि हुने अपेक्षा

चितवन, पुस २४-
नेपालको ऐतिहासिक र सामरिक महत्व बोकेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढीले आफ्नो गुमेको शान पुनः प्राप्त गरेको छ । इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपरदाङगढीमा कोतघरको पुनर्निर्माण सम्पन्न भएसँगै सोही गढीबाट इतिहासका कालखण्डमा प्रयोग भएका पुरातात्विक हातहतियारहरू पुनः स्थापना गरिएको छ । अंग्रेज फौजसँगको युद्धमा नेपाली वीरहरूले रगत पसिना बगाएर देशको रक्षा गरेको यस ऐतिहासिक किल्लालाई अब सङ्ग्रहालयका रूपमा विकास गर्ने उद्देश्यले इच्छाकामना गाउँपालिकाले नेपाली सेना र पुरातत्व विभागको समन्वयमा हतियारहरू प्रतिस्थापन गरेको हो ।
भरतपुरस्थित सबुज गणबाट एक विशेष समारोहका बीच ऐतिहासिक हातहतियारहरू लगेर गढीको नवनिर्मित कोतघरमा सजाएपछि गढीको ऐतिहासिक गरिमा थप उँचो भएको छ । लामो समयदेखि चितवनको भरतपुरस्थित सबुज गणमा सुरक्षित राखिएका ती ऐतिहासिक हतियारहरूलाई बाजागाजा र सैनिक सम्मानका साथ गढीमा भित्र्याइयो ।
कार्यक्रममा मध्य पृतना हेडक्वार्टरका पृतनापति उपरथी विष्णु कुमार खड्का, सबुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामा र ७ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी डा. कमल बानियाँको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारीसहित चितवनका सुरक्षा निकाय प्रमुखहरु पनि सो कार्यक्रममा सहभागि हुनुभएको थियो । गाउँपालिका अध्यक्ष,उपाध्यक्षसहित पालिकाका बासिन्दाहरुको उत्साहजनक उपस्थितिले रहेको थियो । कोतघरमा राखिएका हतियारहरूमा नेपाल–अंग्रेज युद्धका क्रममा प्रयोग भएको मानिने ६ पाउण्डको १ थान तोप मुख्य आकर्षणका रूपमा रहेको छ ।
यसका अलावा ५० थान थोला, २ थान भरुवा बन्दुक, ६ थान खुकुरी, १ थान खुँडा, २ थान तरबार र ६ थान ढाल लगायतका ऐतिहासिक युद्ध सामग्रीहरू सङ्ग्रहालयमा सजाएर राखिएको छ । यी हतियारहरूले तत्कालीन समयमा नेपाली सेनाको वीरता र युद्ध कौशलको झझल्को दिन्छन् र उपरदाङगढी केवल एक किल्ला मात्र नभई नेपालको एकीकरण र राष्ट्रिय स्वाधीनताको रक्षक पनि हो । पुरातत्व विभागका अनुसार यो गढी तत्कालीन बाइसे चौबिसे राज्य एकीकरणका समयमा र विशेष गरी अंग्रेज फौजविरुद्धको युद्धमा नेपाली भूमिको रक्षा गर्न सन् १८०० को सुरुवातीतर्फ निर्माण गरिएको थियो । पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले यसको निर्माण गराएको इतिहास छ । सन् १९६० को दशकको सुरुवातसम्म चितवनको सदरमुकामका रूपमा रहेको यो गढी भौगोलिक र सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार नेपाललाई औपनिवेशिक शक्ति अंग्रेजबाट जोगाउन हाम्रा पुर्खाहरूले देशभर तीन सयभन्दा बढी गढीहरू निर्माण गरेका थिए । तीमध्ये उपरदाङगढी नेपाली पक्ष विजयी भएको एक ऐतिहासिक र महत्वपूर्ण गढी हो । महानिर्देशक प्रधानाङ्गले भन्नुभयो, ‘वि.सं. १८७१ देखि १८७३ सम्मको नेपाल–अंग्रेज युद्धमा हामी विजयी भएको गढी यही हो । यसको ऐतिहासिक महत्वलाई जीवन्त राख्न नेपाल सरकारले २०७० सालदेखि गढीको पुनर्निर्माण र संरक्षणको काम थालेको हो ।’

गढीको ऐतिहासिक मौलिकता नमासिने गरी यसको संरक्षण गरिएको छ । पुरातत्व विभागका कर्मचारीहरूको प्रत्यक्ष निगरानीमा, आधुनिक सिमेन्टको प्रयोग नगरी परम्परागत ‘चुना सुर्खी’ को प्रयोग गरेर कोतघर र आँगनको निर्माण गरिएको छ । महानिर्देशक प्रधानाङ्गले भन्नुभयो, ‘हामी विकासको नयाँ अध्यायमा प्रवेश गरेका छौँ । इतिहासमा भएको मौलिक स्वरूपमै संरचना निर्माण गरेका छौँ ।’
कोतघर निर्माणका लागि इच्छाकामना गाउँपालिकाले १ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार ऐतिहासिक धरोहरको संरक्षणले स्थानीय पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ । उपरदाङगढीको इतिहास पाल्पाका राजा मणिमुकुन्द सेनसँग पनि जोडिएको छ । विशाल पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको मृत्युपश्चात् उनका साहिँला छोरा भृङ्गी सेन तनहुँ खण्डका राजा भएका थिए । तनहुँ सेन राज्यअन्तर्गत चितवन इलाकामा सोमेश्वर गढी, कविलास गढी, प्याउली गढी र सिञ्चाङ गढीहरू रहेका थिए ।
यो गढी हिन्दुस्तान, रामनगर ठोरी, सोमेश्वर गढी, माडी हुँदै उपरदाङगढी, कान्द्राङगढी, गल्छी बेलकोट, नुवाकोटगढी, रसुवागढी हुँदै केरुङ र भोटसम्म पुग्ने असली व्यापारिक, धार्मिक र पर्यटकीय मार्गमा अवस्थित थियो । सेनकालीन यस गढीमा वि.सं. १८३४ साउन ३ गते प्रधानसेनापति अभिमान सिंह बस्न्यातको नेतृत्वमा गोर्खाली फौजले हमला गरी नेपाल राज्यमा गाभेको इतिहास छ ।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार सेनकालीन गढी व्यवस्थित नभएकाले वि.सं. १८८५ मा तत्कालीन गढीलाई भत्काएर ठुलो र व्यवस्थित बनाइएको थियो । यो गढी निर्माण कार्यको कमान्ड भैरुङ पल्टनका अफिसर कमान्डिङ लेफ्टिनेन्ट रणवीर महतले सम्हालेका थिए । गढी निर्माणमा ११ सय सेना, बटुक कम्पनीका १३० जना, तथा गैरसैनिक सिकर्मी, डकर्मी, वज्रकर्मी र बोसकर्मीहरूको सहभागिता थियो ।
रोचक कुरा के छ भने, गढीको जग खन्दा सुन र चाँदीको कोदालीले खन्नुपर्ने धार्मिक मान्यता वा शाही आदेशका कारण काठमाडौं तोपखानाबाट एक–एक थान सुन र चाँदीका कोदाली ल्याएर प्रयोग गरिएको किंवदन्ती छ । चितवन र पर्साको आम्दानीबाट निर्माण गरिएको यस गढीका लागि २०६६ मुरी ५ पाथी १ माना चामल, १०१ मुरी २ पाथी २ माना मास, १ मुरी १५ पाथी ६ माना तेल, २ मुरी १ पाथी ४ माना नुन, ३२ हजार ८०० धानी गुड (सख्खर), १००० धानी छाला र ६ मन सन कागज खर्च भएको शिलालेखमा उल्लेख छ ।
ऐतिहासिक सम्पदाको रूपमा विकास भएसँगै यसको सुरक्षा चुनौती पनि थपिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ऐतिहासिक स्थलको संरक्षणमा प्रशासनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘ऐतिहासिक स्थलको हामी सबैले अध्ययन र संरक्षण गर्नुपर्छ,’ प्रजिअ अर्यालले भन्नुभयो, ‘यहाँको सुरक्षा आवश्यक परे हामी समन्वय गर्न तयार छौँ । ऐतिहासिक धरोहर मास्ने वा क्षति पु¥याउने जो कोहीलाई कानुनी कारबाही गरिनेछ ।’ पुरातत्व विभागले यस ऐतिहासिक क्षेत्रको गरिमालाई कायम राख्न अनुमतिबिना कुनै पनि नयाँ संरचना बनाउन रोक लगाएको छ । गढीमा हतियार पुनस्स्थापनासँगै स्थानीय बासिन्दा र सरोकारवालाहरूले यस क्षेत्रको मुहार फेरिने विश्वास व्यक्त गरेका छन् ।
























