राजनीति
सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक

महेन्द्रनगर, भदौ २१-
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन गर्न सर्वोच्च अदालतमा रहेको मुद्दाको निर्णय पर्खिनुपर्ने बताउनुभएको छ । पार्टी मिलाउन दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस भीमदत्तनगर कार्यसमितिले आज महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता लेखकले भन्नुभयो, “पार्टी मिलाउने हो भने दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गरौँ र पार्टी मिलाउने बैठकमा छलफल गरौँ ।”
नेता लेखकले १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले पार्टीमा विवाद सिर्जना भई समस्या सुरु भएको बताउनुभयो । “महाधिवेशन नरोक्ने, अरु अरु कुरा गरेर कसरी मिल्छ”, उहाँले प्रशन गर्नुभयो । दुवै पक्षले एकापसमा छलफल गरेर पार्टी विभाजन रोक्नुपर्ने उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा नेता लेखकले रसुवा बाढीका कारण सिँगो मुलुकले क्षति व्यहोर्नुपरेको बताउँदै विपद्को सामनाका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
























