चितवन विशेष
होटेल पौवाको न्यू इयर इभमा झुमे दर्शक, सौराहामा रमाए पर्यटक

चितवन, पुस १७–
अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतमा चितवनको पर्यटकीय नगरी सौराहा र भरतपुरमा भव्य कार्यक्रमहरु गरिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरु सौराहामा रमाए भने भरतपुरस्थित होटेल पौवाले आयोजना गरेको कार्यक्रममा समेत दर्शकको उपस्थिति बाक्लो रह्यो ।
पौवामा भएको ‘न्यु इयर इभ लाइभ म्युजिक’ कार्यक्रममा सहभागिहरु गायक रमेशराज भट्टराई र गायिका भूमिका गिरीको गीतमा झुमेका थिए । यस्तै सहभागिहरुका लागि रु.७५ देखि माथिका परिकारहरु राखिएको थियो ।
नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा केही महिना अघिदेखि संचालनमा ल्याएको हो । यस भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ ।

त्यस्तै चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटकहरु रमाएका छन् । विगतका वर्षहरु भन्दा यसवर्षको ‘न्यू इयर इभ’मा उल्लेखीय पर्यटक देखिएनन् । क्रिसमससंगै सुरु भएको हात्ती महोत्सवको समयमा उल्लेखीय पर्यटक देखिए पनि नयाँ वर्षको अघिल्लो दिनमा भने उल्लेखीय पर्यटक नआएको व्यवसायी बताउँछन् । चितवनमा पाँच दिनदेखि लगातार अत्यधिक चिसो बढेकाले पनि पर्यटक चितवनमा नआएको हुन सक्ने पर्यटन व्यवसायी बताउँछन् ।
‘यसपटक अत्यधिक चिसोसंगै विभिन्न ठाउँमा राजमार्गमा भएका अवरोधले पनि सौराहामा नयाँ वर्षको स्वागतमा कम मान्छे देखिए, तर पछिल्लो सातायता सौराहा आउने पर्यटकको संख्यामा कमी देखिदैन’–क्षेत्रीय होटल संघ सौराहा चितवनका पूर्व अध्यक्ष सुमन घिमिरेले भने । उनका अनुसार नयाँ वर्षको अघिल्लो दिन सौराहाका होटलको अकुपेन्सी ६० प्रतिशतको हाराहारीमा रह्यो । जबकी हात्ती महोत्सवको बेला होटलको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको थियो ।
नयाँ वर्षको स्वागतमा रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाले सांगीतिक कार्यक्रम समेत राखेको थियो । त्यहाँ पनि नयाँ वर्षको स्वागत गर्न पुगेका पर्यटकहरु रमाएका थिए । युवा व्यवसायी इमेश खनाल पछिल्ला वर्षहरुमा बिस्तारै सौराहामा पर्यटक देखिन थालेको बताए । उनले नयाँ वर्षको स्वागतमा उल्लेखीय पर्यटक नदेखिए पनि सन्तोषजनक रहेको बताए ।
सौराहामा पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्ज भ्रमण, सामुदायिक वनहरुमा हात्ती सफारी, जीप सफारी, जंगलवाक, डुंगा सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । सौराहामा १३० भन्दा बढी होटल र उत्तिकै संख्यामा रेष्टुरेन्टहरु रहेका छन् ।






























