खेलकुद

इन्डो–नेपाल टी–२० च्याम्पियनसीपः चितवन र आर्मी विजयी

Banner

चितवन, पुस ६–

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप–२०२५ अन्तरगत आज (आइतबार) भएका खेलहरुमा त्रिभुवन आर्मी क्लव र चितवन क्रिकेट क्लव विजयी भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबारको दोस्रो खेलमा आर्मीले भारतको दिल्ली वन्डर्सलाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो । ओपनर तृतराज दासको शतकसंगै आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो । ओपनर ब्याटर दासले ५१ बलमा अविजित रहँदै शतक पूरा गरेका थिए । कप्तान विनोद भण्डारीले ४४, इमरान शेखले ३६ र अर्जुन साउदले २१ रन बनाए । भीम सार्कीले अविजित ४ रन बनाए भने बसिर अहमद १ र नरेन साउद शून्यमै आउट भए । दिल्लीका दुश्यान्त राघभले ३ र कुशागरा शर्माले एक विकेट लिए ।

२१९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको दिल्ली १९.४ ओभरमा १८१ रन मात्रै बनाउन सक्यो । उसका लागि दुष्यान्त राघभले ५६ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । आर्मीका लागि दुर्गेश गुप्ताले ३.४ ओभरमा २८ रन खर्चिदै ४ विकेट लिए । शाहब आलमले २, बसिर अहमद र नरेन साउदले समान एक–एक विकेट लिए ।

यस्तै आइतबारकै पहिलो खेलमा घरेलु टोली चितवन क्रिकेट क्लवले लगातार दोस्रो जित दर्ता गर्‍यो । विभागीय टोली नेपाल पुलिस क्लवलाई ४ विकेटले पराजित गर्दै चितवनले दोस्रो जित दर्ता गरेको हो । पुलिसले दिएको ८६ रनको झिनो लक्ष्य चितवनले ४८ बल बाँकी छदै ६ विकेट गुमाएर पुरा ग¥यो । चितवनलाई जित दिलाउन रोशन झाले १८ बलमा ४८ रनको बिष्फोटक पारी खेले । गौतम केसीले १२ रन बनाए भने दीपेश कंडेलले ९ रनको योगदान दिए ।

नेपाल पुलिस क्लवका लागि अशोक धामी र सुजन थपलियाले समान २ विकेट लिए भने श्रवण यादव र राशिद खानले एक–एक विकेट लिए । पुलिस दीपेश कंडेलको घातक बलिङ सामु निरीह बन्दै १७ ओभरमा ८५ रनमै अलआउट भयो । पुलिसका शंकर रानाले ३९ रन बनाउनु बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । सुजन थपलियाले १४ र अशोक धामीले ९ रन बनाए ।

चितवनका लागि दीपेश कंडेलले ४ ओभरमा १३ रन खर्चिदै ४ विकेट लिएका थिए । नरेश प्रधानले ३, विपिन खत्री र दीपेश श्रेष्ठले समान एक–एक विकेट लिए । चितवनका दीपेश कंडेल प्लेयर अफ दि म्याच घोषित भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>