Breaking News
माला लगाएर चितवनबाट खगेन्द्र प्रसाद र रुद्रकलीलाई गरियो बिदाई

चितवन, मंसिर २९–
कतारलाई उपहार दिन लागिएको दुई वटा हात्तीलाई आज (सोमबार) चितवनबाट बिदाई गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित सेक्टर कार्यालयबाट ६ वर्षका खगेन्द्र प्रसाद र ७ वर्षकी रुद्रकलीलाई बिदाई गरिएको हो । निकुञ्जले आयोजना गरेको बिदाई कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले दुई हात्तीलाई फूलमाला र फलफूल खुवाएर बिदाई गरेका हुन् ।
सो क्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख सापकोटाले कतारलाई नेपाल सरकारबाट हात्ती उपहार दिनुलाई सकरात्मक लिनुपर्ने बताउनुभयो । उहाँले नेपाल भन्दा सम्पन्न देश कतारले दुई वटा हात्ती राम्रोसंग पाल्न सक्ने भन्दै यसले दुई देशको सम्बन्ध थप मजबुत बन्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी अर्यालले हात्तीलाई उपहार स्वरुप दिँदा खुशी र दुःख दुवै क्षण भएको बताउनुभयो । यति लामो समयसम्म चितवनमा रहेका यी दुई हात्तीलाई अब भेट्न सहज नहुने भन्दै यो क्षण दुःखको भएको बताउनुभयो । उहाँले हात्ती उपहारबाट कतारसंगको सम्बन्ध थप मजबुत बन्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तले सोमबार चितवनबाट बिदाई गरिएको हात्तीलाई पुस २ गते कार्गो चार्टर बिमान मार्फत कतार पठाइने जानकारी दिनुभयो । उहाँले हात्तीसंगै एक प्राविधिक र दुई माहत जाने बताउनुभयो ।
आज हात्तीसंगै स्वास्थ्य प्राविधिक दिनेश ढकाल, रुद्रकलीका माहुत बुद्धिलाल श्रेष्ठ र खगेन्द्र प्रसादका माहुत पाचुखा चौधरीलाई पनि बिदाई गरिएको छ । उनीहरुलाई खादा र माला लगाएर बिदाई गरिएको थियो । माहुतका आफन्तले दही खुवाएर बिदाई गरेका थिए ।
रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीको बच्चा हो । ती हात्तीलाई कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राखिने छ । नेपाल सरकारले विभिन्न समयमा मित्र राष्ट्रहरुलाई विभिन्न प्रजातिका वन्यजन्तुहरु उपहार स्वरुप पठाउँदै आइरहेको छ । यसअघि एक सिंगे गैंडा पठाए पनि हात्ती भने पहिलोपटक पठाउन लागिएको हो । हालसम्म सरकारले ४७ वटा विभिन्न प्रजातिका वन्यजन्तु उपहार दिएको छ भने सबैभन्दा धेरै गैंडा २६ वटा चीन लगायतका देशलाई उपहार दिएको छ ।

























