देश/प्रदेश

दश देशका कलाकारका चित्रकला प्रदर्शन

Banner

काठमाडौँ, मंसिर १५-

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरु प्रदर्शन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रस्तुत भएका कलाहरु संस्कृति तथा सम्पदामा केन्द्रित छन् ।

कलामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्माराज भण्डारीले बताउनुभयो । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कलाहरु प्रदर्शनीमा राखिएका छन् ।

‘हेरिटेज’ शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गर्नुभएका कलाकार उत्तम डङ्गोलले पशुपतिलाई केन्द्रविन्दुमा राखेर लोककलाका आधारमा क्यान्भास भर्नुभएको छ । पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा समेटेर उहाँले चित्र सिर्जना गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “पशुपतिमा देखिने विषयहरु हनुमान, भैरव, नाग देवता, गणेशलाई ‘फोकस’ गरेको छु, हिजोको लोक कलालाई क्यान्भासमा रुपान्तरण गरेर आधुनिक शैलीमा प्रस्तुत गरेँ, ‘एक्रेलिक’ माध्यममा ‘वाटरप्रुफ’ कलामा सम्पदालाई देखाएको हुँ ।”

तेल रङ्गमा कला प्रस्तुत गर्नुभएकी कलाकार ज्योति खड्काले पुरानो काठमाडौँलाई झल्काउनुभएको छ । महाबौद्धको स्तूपालाई मुख्य विषय बनाएर त्यहाँको पुराना संस्कृति गाउँ र परम्परालाई उहाँले देखाउनुभएको छ । उहाँले भन्नुभयो, “परम्परागत कलामा प्रायः मानिसहरुले घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा कलाकारको ध्यान जाने गर्छ, तर मैले त्यसलाई छाडेर पुरानो जुन हराएको संस्कृतिलाई उठान गरेकी छु ।”

उक्त कलाको संयोजन गर्नुभएकी कलाकार सुष्माराज भण्डारीले गणेशको सिरिज प्रस्तुत गर्नुभएको छ । उहाँले पनि उक्त प्रदर्शनीमा गणेशको चित्रलाई क्यान्भासमा उतार्नुभएको छ । उहाँको चित्र एक लाखमा बिक्रीसमेत भइरहेको छ । अन्य पाँचरछवटा चित्रहरु बिक्री भएको पनि उहाँले बताउनुभयो ।

नेपालसहित भारत, बङ्गलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत गरिएका छन् । १५ वटा विदेशी कलाकारका चित्रकला यहाँ राखिएका छन् ।

नेपालका वरिष्ठ कलाकार राधेश्याम मुल्मी, गोविन्द डङ्गोल, विजय थापालगायतका कलासमेत यहाँ समेटिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>