देश/प्रदेश
राजनीतिमा महिला सहभागिता वृद्धि गर्नुपर्नेमा जोड

काठमाडौँ, कात्तिक २८-
सरोकार भएकाहरूले आगामी निर्वाचनमा महिला र युवाको उपस्थितिमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
ओजस्वी नेपालले आज यहाँ आयोजना गरेको ‘राजनीतिक आन्दोलनको जनादेशःमहिला र युवाको अर्थपूर्ण सहभागिता’ विषयक कार्यक्रममा ‘जेनजी’ अगुवा, महिला अधिकारकर्मीलगायत सरोकार भएकाहरूले सहभागिता वृद्धिमा जोड दिएका हुन् ।
महिला अधिकारकर्मी सरु जोशी, लैङ्गिक अधिकारकर्मी सञ्जोग ठकुरी र जेनजी अगुवा मोनिका निरौलाबीच भएको संवादलाई पत्रकार दुर्गा कार्कीले सहजीकरण गर्नुभएको थियो ।
निरौलाले राजनीतिक सुदृढीककरण गर्ने महत्त्वपूर्ण आधार समानतामूलक सहभागिता रहेको बताउनुभयो । उहाँले ‘जेनजी’ प्रदर्शनका विविध कारणमध्ये असमान राजनीतिक पहुँचसमेत रहेको धारणा राख्नुभयो । “जेनजी समूह एकताबद्ध हँुदैछ, हामीले यहाँ ५१ प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड दिएका छौँ”, निरौलाले भन्नुभयो, “अन्य राजनीतिक दलमा पनि आफ्नो पार्टीमा युवा र महिला सहभागिता बढाउनु आवश्यक छ ।”
उहाँ आगामी निर्वाचनमा मतदाताको अवस्था हेर्दा महिला र युवाको सङ्ख्या बढाउनेतर्फ त्यति ध्यानकेन्द्रित नभएको महसुस भइरहेको बताउनुभयो ।
अधिकारकर्मी जोशीले अगामी निर्वाचनमा महिलाको पहुँच बिस्तार गर्ने माहोल बनाउन अनुपम अभियान थालनी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अभियानका क्रममा निर्वाचनमा महिलाको चासो र रोजाइ अत्यन्त न्यून देखिएको अनुभव सुनाउनुभयो । “राजनीतिमा महिलालाई कसरी घरबाट बाहिर ल्याउने भन्ने कुरामै चुनौती छ । निर्वाचनसम्म त आर्थिक, सामाजिक, पारिवारिक पक्षले अवरोध गरेको देखिन्छ । यद्यपि, जागरुक अभियानमा जुटेका छौँ ।”
अधिकारकर्मी ठकुरीले भने राजनीतिक क्षेत्रमा महिला सहभागिता वृद्धिमा पितृसत्तात्मक मानसिकता नै बाधक भएको जिकिर गर्नुभयो । पछिल्लो समय राजनीतिमा महिला सहभागी गराउने भनिए पनि शासनसत्ता र नेतृत्व पुरुषमै हुनुपर्ने चेतना हाबी भएको उहाँको भनाइ थियो ।
ओजस्वी नेपालका अध्यक्ष कला राईले राजनीतिमा महिला सहभागिता अनिवार्य रहेको र यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाउनुपर्ने बताउनुभयो । यही अभियानअनुरुप आगामी निर्वाचनमा महिलाको नेतृत्व वृद्धि गर्न अधिकारकर्मी एकजुट भएर आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस


























