देश/प्रदेश

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

Banner

महोत्तरी, कात्तिक २५ –

बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ ।

कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको माटोमा अम्बा र कागती दुवै फल लागे पनि यति धेरै मात्रामा भने खेती गरिएको देखिँदैन ।

किसान गौतमले गत वर्षको मङ्सिरदेखि अम्बाका विरुवा रोपन थाल्नुभएको हो । अहिले थाइग्रिन र ताइवानपिङ्क जातका अम्बाका बिरुवा रोपिएका उहाँको भनाइ छ । “गत मङ्सिरमा रोपिएका थाइग्रिन अम्बा यसपालि फलेका छन्, ताइवानपिङ्कचाहिँ यसपालि गत भदौमा रोपिएको हो ।”

मधेसमा यति धेरै परिमाणमा अम्बा लगाउने आफू पहिलो किसान हुनसक्ने उहाँ बताउनुहुन्छ । अम्बा अझै पाँच सय बोट थप्ने उहाँको योजना छ । अम्बा एक बिघामा एक हजार बोट अटे पनि कागती भने पाँच सय बोटमात्र लगाउनुपर्ने बागवानी प्राविधिकहरूको सल्लाहअनुसार यस्तो गरिएको उहाँले जानकारी दिनुभयो । कागती कुमकार्ड भनिने पाकिस्तानी जातको रोपिएको किसान गौतमले बताउनुभयो ।

यसका लागि करिब १० लाख रुपैयाँ खर्च भएको उहाँको भनाइ छ । “बिरुवा कोलकाताबाट मगाइएका हुन्, बारीमा आइपुग्दा प्रतिबोट रु एक सय ५० पर्यो, खाल्डो खन्न र माटोको उपचार एवं मलसमेत प्रत्येक बोटमा रु पाँच सय लागेको छ”, उहाँले भन्नुभयो, “यसबाहेक सुरुको जोतखन खर्च अलग लागेको छ ।”

यी बोटले तीन वर्षका भएपछि सघन उत्पादन दिन थाल्नेछन् । अम्बाले बर्सेनि प्रतिबोट ४० किलोग्राम र कागती २० किलोग्राम उत्पादन हुने बागवानीविज्ञले बताएका उहाँले जानकारीदिनुभयो । अम्बा र कागतीले ३० वर्षसम्म उत्पादन दिने वागवानीविज्ञले सुझाएका उहाँको भनाइ छ । किसान गौतमले लगाउनुभएका तीजतका विरुवाले यहाँको माटो र हावापानीमा राम्ररी फस्टाउने कृषिविज्ञ बर्दिबास–५ का वाणिकराज काफ्ले बताउनुहुन्छ । “माटो र हावापानी अम्बा र कागतीका लागि यहाँ अनुकूल नै छ, अन्य उपचार र रेखदेख भने नियमित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बगैँचाको हेरचाह र उत्पादनको बिक्री व्यवस्थापन घरै बसेर गर्न सकिने विश्वासमा यो काममा हात हालिएको उहाँको भनाइ छ । मधेसमा बागवानीखेतीमा आँप, लिची बाक्लै लगाइने भए पनि व्यावसायिक रूपमै यति धेरै परिमाणमा अम्बा र कागती लगाइएको भने पाइँदैन । उहाँको कामप्रतिको लगाव र समर्पण नजिकबाट बुझ्नुभएका उहाँका काका ७५ वर्षीय चन्द्रलाल गौतम भन्नुहुन्छ, “निलहरि प्रत्येक काम गहिरिएर योजनाबद्ध गर्ने बानीका छन्, यिनले हात हालेको काम बिस्तुर गएको देखिन्न ।” अहिले खयरमारामा निलहरिको यो बगैँचा हेर्न वरिपरिका मान्छे बाक्लै पुग्ने गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>